Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन भएनन् माधव नेपाल राष्ट्रपतिको उम्मेदवार ?

राष्ट्रपति बन्ने प्रयासमा रहेका नेपाल एमालेबाट आधा कार्यकालको प्रस्ताव आएपछि बिच्किए
बुधबार, फागुन १७, २०७९

काठमाडौँ– पुस १० मा बालकोटमा बनेको सत्ता गठबन्धन भत्किने निश्चितप्रायः भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनका सन्दर्भमा वैकल्पिक योजना अघि बढाएका थिए ।

तिक्तापूर्ण र निषेधको सम्बन्धमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गर्न ओली नै अघि सरेका थिए । 

फागुन ७ मा विराटनगर पुगेका ओली साँझ काठमाडौँ फर्किएर महाराजगन्जस्थित एक घरमा नेपालसँग भेटेर राष्ट्रपतिको प्रस्ताव गरे । तर, ओलीको प्रस्ताव शर्तसहितको थियो । 

सोही दिन नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पनि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेट गरेका थिए । माधव नेपाल र सोमप्रसाद पाण्डेबीच सम्धीको नाता छ । 

फागुन ७ को भेटमा ओलीले नेपाललाई भेटेर नेपाल तयार भएको अवस्थामा राष्ट्रपति बनाउन सहयोग गर्ने बताएका थिए ।

तर, त्यससँगै ओलीले एकीकृत समाजवादी पार्टीलाई एमालेमा समाहित गर्नुपर्ने शर्त राखे ।

तर, एमालेका नेताहरूले माधव नेपालसँग गरेका पछिल्ला भेटमा भने आधा कार्यकाल मात्रै राष्ट्रपति दिन सकिने बताएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । 

अध्यक्ष ओलीले भेटेपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि माधव नेपालसँग भेट गरेका थिए ।  

एमालेबाट आधा कार्यकालको राष्ट्रपतिको प्रस्ताव आएकाले माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न तयार नभएको उनी निकट एकीकृत समाजवादीका एक नेताले बताए ।

सुरुमा ओलीबाटै राष्ट्रपतिको प्रस्ताव आएपछि माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । 

फागुन ११ गते साँझ प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव छलफलमा बसेका थिए । त्यस दिन नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रचण्ड र यादव सहमत भएको र उनीहरूले कांग्रेस र एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको एकीकृत समाजवादीका एक नेताले बताए । 

‘२ जना नेताहरू प्रचण्ड र उपेन्द्र यादव माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन तयार हुनुभएको थियो । तर, उहाँहरूमात्रै सहमत भएर हुँदैनथ्यो । कांग्रेस र एमालेसँग पनि छलफल गर्ने निर्णय भएको थियो,’ ती नेताले भने ।

फागुन १२ गते बिहान कांग्रेससँग र दिउँसो एमालेसँग छलफल गर्ने कुरा भएको जानकारी दिँदै उनले भने, ‘तर, एमालेबाट आधा कार्यकाल राष्ट्रपतिको कुरा आएपछि माधव नेपालले नै थप चासो राख्नुभएन ।’

माधव नेपालले नै राष्ट्रपति पदलाई आधा–आधा कार्यकालमा बाँड्न हुँदैन भनेर अस्वीकार गरेको ती नेताले बताए ।

त्यति मात्रै होइन, एमालेले राष्ट्रपति नलिने भए प्रधानमन्त्रीका लागि तयार हुन समेत माधव नेपाललाई अफर गरेको ती नेताले बताए ।

प्रचण्डले साढे २ वर्षको प्रधानमन्त्रीको कार्यकाल पूरा गरेपछि नेपाललाई प्रधानमन्त्री बनाउने आश्वासन पनि एमालेबाट आएको ती नेताले बताए ।

तर, राजनीतिमा इमान कायम राख्नुपर्ने भन्दै माधव नेपालले पार्टीमा नै कांग्रेससँगको सहकार्यलाई धोका दिन नहुने तर्क गरेको ती नेताले बताए । 

हुन त माधव नेपाललाई २०६४ सालमा पनि राष्ट्रपतिको प्रस्ताव आएको थियो । त्यसबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न भनेका थिए ।

तर, त्यसबेला माधव नेपालले राष्ट्रपति बन्ने आफ्नो उमेर भइनसकेको भन्दै अस्वीकार गरेका थिए  । नेपालले अस्वीकार गरेपछि माओवादी केन्द्रले रामराजाप्रसाद सिंहलाई उम्मेदवार बनायो । कांग्रेसले डा. रामवरण यादवलाई उम्मेदवार बनाएको थियो । त्यसबेला यादवले राष्ट्रपति चुनाव जितेका थिए । 

२०७२ सालमा पनि माधव नेपाल एमालेमै रहँदा राष्ट्रपतिको उम्मेदवार बन्न पार्टीभित्रबाटै दबाब थियो । त्यसबेला पनि नेपालले सक्रिय राजनीतिमै रहने भन्दै राष्ट्रपतिको उम्मेदवार बन्न इन्कार गरेका थिए ।

त्यसबेला एमालेले तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनायो र चुनाव जितायो । 

यसपटक भने माधव नेपाल राष्ट्रपतिको उम्मेदवार बन्न तयार भएका थिए । तर, उनले आफ्नो नाममा राष्ट्रिय सहमति बन्नुपर्ने शर्त राखेका थिए ।

तर, एमालेबाट आधा कार्यकालको मात्रै राष्ट्रपतिको प्रस्ताव आएपछि भने नेपाल ८ दलीय गठबन्धनमै रहने मनस्थितिमा पुगेको उनी निकट नेताहरू बताउँछन् ।

८ दलीय गठबन्धनमा भने प्रचण्डले २ वर्ष प्रधानमन्त्री चलाएपछिको १ वर्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति बनेको नेताहरूले चर्चा गर्ने गरेका छन् । तर, शीर्ष नेताहरूले भने त्यसको स्वतन्त्र पुष्टि गरिसकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार