युएईविरुद्ध महत्वपूर्ण खेल खेल्दै नेपाल
काठमाडौँ– युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज महत्वपूर्ण खेल खेल्दैछ । नेपालले आज आयोजक युएईको सामना गर्नेछ । यो खेल बिहान ११ः४५ बजे दुबई रंगशालामा सुरु हुनेछ ।
२०१९ देखि जारी विश्वकप लिग– २ मा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । जसमा नेपालसँगै युएई र पपुवा न्यू गिनी (पिएनजी) छन् ।
अब नेपालले लिग–२ का बाँकी सबै सात खेल जिते ४२ अंक हुनेछ । यस्तो अवस्थामा नेपालले शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जिते नेपालको सम्भावना टर्न सक्नेछ ।
नेपाल, युएई र नामिबियामध्ये एक टोलीले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च–अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
प्लेअफ क्वालिफायरमा लिग– २ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले आइसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन् ।
अहिले नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौँ स्थानमा छ ।
कम्तीमा एकदिवसीय मान्यता जोगाउन पनि नेपाल शीर्ष पाँचमा पर्नुपर्नेछ ।
सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएसँगै उनी स्क्वाडमा समावेश हुँदै युएई पुगिसकेका छन् ।
यससँगै नेपाली टोलीको मनोबल बढेको विश्लेषण गर्न सकिन्छ ।
यसअघिको खेलमा नेपालले पिएनजीलाई हराएको थियो ।
नेपालको यू–१९ टोलीले पनि आजै आइसिसी यू–१९ क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको अन्तिम तथा निर्णायक खेल आज आयोजक युएईसँग नै खेल्दैछ ।
यो खेल जितेको खण्डमा नेपाल सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
यो निर्णायक खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुनेछ ।