सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार सुरु
काठमाडौँ– सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ ।
बुधबार काठमाडौँमा मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबारको शुभारम्भ बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे ।
उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृतको शुभारम्भ गर्दै बिमा कम्पनीले पुँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए । उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरूको मर्जर स्वस्फुर्त भएको बताए ।
कम्पनीहरूले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउँदै उनले बिमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बिमाप्रतिको विश्वास बढ्न नसक्ने बताए ।
पुँजीअनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्न सके, बिमा दाबी भुक्तानी समयमा दिनसके मात्रै बिमाप्रतिको विश्वास बढ्ने उनले बताए ।
उनले बिमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बिमाप्रति नकारात्मक धारणा बनाउने बताए । अध्यक्ष सिलवालले बिमा कम्पनीहरू काठमाडौँ केन्द्रित भएको बताउँदै अब काठमाडौँबाहिर पनि कम्पनीले बिमा गर्नुपर्ने जनाए ।
कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताउँदै अब क्षेत्रअनुसारको नीति ल्याउन आवश्यक रहेको धारणा राखे ।
उनले कम्पनीलाई आफैँ पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउन सक्ने २ विकल्पमध्ये मर्जर रोजेको पनि बताए ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले २ इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बिमा क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास लिएको बताए । उनले ग्राहकहरूलाई गुणस्तरीय बिमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए ।
उनले मर्जरपछि विगतको भन्दा सबल र सक्षम भएर लाग्ने बताए ।