Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यमुखी खेतीतर्फ आकर्षण

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ –भरतपुरमा व्यावसायिक सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ ।

४ किसानको अगुवाइमा पौने ३ बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए । कृषि ज्ञान केन्द्र चितवनसँग साढे ४ बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिंचाइमा सहयोग गरेको उनले बताए ।

१० वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ । सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले अन्य खेती गर्ने किसान यसतर्फ आकर्षित हुन थालेका छन् । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीको भनाइ छ ।

फूल फुल्न थालेसँगै टिकट शुल्क १०० सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न तथा खेतीबाली हेर्न पर्यटक समेत आउन थालेका छन् । अहिले मह उत्पादनका लागि मौरीको ६०÷६५ घार पनि राखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर २ क्षेत्रमा १०० हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन् ।

उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरूलाई केन्द्रले सहयोग गरेको बताइन् । किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ ।   


 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १०:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार