युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
काठमाडौँ– युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
दुबई रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालको सुरुवाती ११ मा सन्दीप लामिछाने पनि परेका छन् ।
खेल केहीबेरअघि सुरु भएको हो ।
यो खेल नेपालका लागि महत्वपूर्ण हो । २०१९ देखि जारी विश्वकप लिग– २ मा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । जसमा नेपालसँगै युएई र पपुवा न्यू गिनी (पिएनजी) छन् ।
अब नेपालले लिग–२ का बाँकी सबै सात खेल जिते ४२ अंक हुनेछ । यस्तो अवस्थामा नेपालले शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जिते नेपालको सम्भावना टर्न सक्नेछ ।
नेपाल, युएई र नामिबियामध्ये एक टोलीले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च–अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
प्लेअफ क्वालिफायरमा लिग– २ का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले आइसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन् ।
अहिले नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकसहित छैटौँ स्थानमा छ ।
कम्तीमा एकदिवसीय मान्यता जोगाउन पनि नेपाल शीर्ष पाँचमा पर्नुपर्नेछ ।
सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनी स्क्वाडमा समावेश हुँदै खेलका लागि तयार भएका छन् ।
यससँगै नेपाली टोलीको मनोबल बढेको विश्लेषण गर्न सकिन्छ ।
यसअघिको खेलमा नेपालले पिएनजीलाई हराएको थियो ।