Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिनो हाइड्रोले पायो तामाकोसी पाँचौँ निर्माणको ठेक्का

बिहीबार, फागुन १८, २०७९

काठमाडौँ– जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतको ९९.५ मेगावाटको तामोकोसी पाँचौँ जलविद्युत् आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले पाएको छ ।

गत फागुन १६ गते खोलिएको आर्थिक प्रस्तावमा कम कबोल गर्ने उक्त कम्पनीले निर्माणको ठेक्का पाएको हो ।

नेपाल विद्युत् प्राधिकरणले बनाउने उक्त आयोजना निर्माणका लागि दुइटा चिनियाँ कम्पनी सर्ट लिस्टमा थिए । चाइना गेजुवा ग्रुप कर्पोरेसन लिमिटेड र सिनो हाइड्रो कर्पोरेसनले आयोजना निर्माणका लागि प्रस्ताव पेस गरेका थिए ।

प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकनका आधारमा सिनो हाइड्रो कर्पोरेसनले आवेदन पेस गरेको थियो ।

दोलखामा निर्माण हुन लागेको उक्त आयोजना ४५६ मेगावाटको माथिल्लो तामाकोसीको क्यासकेड आयोजना हो । तामाकोसी नदीमा बाँध निर्माण नगरी माथिल्लो तामाकोसीको विद्युत् गृहबाट आएको टेलरेसको पानीलाई सीधै ८ किलोमिटर लामो सुरुङमा हालेर विद्युत् उत्पादन गरिनेछ ।

सुरीटारमा भूमिगत विद्युत् गृहमार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् २२० केभीको प्रसारण लाइनमार्फत २ किलामिटर दुरीमा रहेको गोंगर–खिम्ती प्रसारण लाइनमा जोड्नेछ ।

१ वर्षपछि निर्माण सुरु गर्ने गरी आयोजनाको पूर्वतयारी अघि बढाइएको आयोजना प्रमुख हेमन्त भट्टले बताए ।

उनका अनुसार कुल १८ अर्ब रुपैयाँ लगानी अनुमान गरिएको आयोजनामा विद्युत् प्राधिकरणसहित कर्मचारी सञ्चय कोष र सर्वसाधारणलाई सेयर बिक्री गरी पुँजी जुटाइने छ । आयोजना ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्