फागुन २३ देखि बिपिडब्लू लघुवित्तको आइपिओ निष्कासन हुने
काठमाडौँ– आगामी फागुन २३ गतेदेखि बिपिडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निस्कासन गर्ने भएको छ ।
बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरेलगत्तै फागुन २३ देखि सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रूपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता सयर निष्कासन गर्न लागेको हो।
जसमध्ये ९ हजार ७०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता सेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।