Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरकारीको उत्पादन र भाउ घट्दा किसान चिन्तित

बिहीबार, फागुन १८, २०७९

मोरङ –लेटाङ नगरपालिका वडा – ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यस याममा भने चिन्तित छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरू चिन्तित बनेका हुन् । 

अघिल्लो वर्ष प्रति किलो ६० रुपैयाँसम्ममा बिक्री भएको सिमी यस वर्ष २० रुपैयाँ पाउन पनि गाह्रो भएको स्थानीय कृषक डम्बरकुमारी कार्की बताउँछन् ।

उपयुक्त वातावरण, भिरालो जमिन खकुलो माटो भएका कारण यस क्षेत्रमा नगदेबाली लगाउनेको सङ्ख्या बढ्दो छ । सिँचाइको पर्याप्त सुविधा भएका कारण यस क्षेत्रका युवाले सामूहिक खेती गर्दै आएका हुन् । तरकारी खेतीबाटै मनग्य आम्दानी गर्दै आइएकामा घ्यूसिमीले भाउ नपाएका कारण घाटा भएको उनीहरूको भनाइ छ । 

नगरपालिकाले टमाटर र सिमी खेतीलाई पहिलो प्राथमिकतामा राखेको छ । लेटाङमा रहेका ५ वटा कृषि सहकारी र १० वटा कृषक समूहले सामूहिक टमाटर खेती गर्दै आएका छन् । वार्षिक १० करोड रुपैयाभन्दा बढी टमाटर र सिमी उत्पादन गर्ने लेटाङ नगरले यस वर्ष आधा पनि उत्पादन गर्न सकेको छैन । टमाटर र सिमी उत्पादन घटनाका साथै भारतीय तरकारी भित्रिएका कारण नेपाली कृषक मारमा परेको लेटाङ–८ स्थित उन्नत कृषि सहकारीका अध्यक्ष दाताराम घिमिरे बताउँछन् ।

समयमै बीउ मल र बजार नपाउँदा किसान चिन्तित बन्दै गएका छन् । त्यसमा पनि भारतीय सब्जीका कारण नेपाली सब्जीले बजार नपाएको कृषकको गुनासो छ । समयमै मल बीउ, आकाशे पानी उपलब्ध भए पनि बजार नपाइएको कृषक नगेन्द्र लिम्बूको भनाइ छ ।

उत्तरी मोरङ लेटाङको सिमी नेपालका ठूला सहर काठमाडौँ र पोखरामा माग बढी हुने गरेको छ । जाँतेमा करिब ५ सय हेक्टर जमिनमा १ हजार ५ सय हाराहारी कृषकले टमाटर खेती गर्दै आएका छन् । समूह र सामूहिक खेती गर्नेलाई नगरले अनुदान पनि दिँदै आएको लेटाङ कृषि शाखाका प्रमुख करण श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्