Nic Ad Nic Ad
Nic Ad Nic Ad

जी–२० सदस्य राष्ट्रलाई मोदीको आह्वान– भूराजनीतिक तनाव अन्त्यका लागि एकताबद्ध हुनुपर्छ

शुक्रबार, फागुन १९, २०७९

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी–२० सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री मोदीले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित जी–२० सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपील गरेका हुन् । 

प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतंकवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी–२० लाई आशा र भरोसाका साथ हेरेको बताए । 

उनले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गरे । उक्त आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताए ।

‘विश्वव्यापी विभाजनको समयमा भएको विदेशमन्त्रीहरूको बैठक भूराजनीतिक तनावबाट प्रभावित हुनु सामान्य भए पनि  यो तनाव कसरी समाधान गर्ने भन्ने बारेमा हामीबीच पृथक अडान र दृष्टिकोण भए पनि एकताबद्ध भएर त्यसलाई अन्त्य गर्नेतर्फ लाग्नु श्रेयस्कर हुनेछ,’ प्रधानमन्त्री मोदीले अभिमत प्रकट गरे ।

बैठकका अध्यक्ष भारतीय विदेशमन्त्री एस जयशंकरले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवद्र्धनमा जोड दिए । उनले खाद्य र ऊर्जा सुरक्षा चिन्ताका विषय भएका बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गरे । विश्व अर्थतन्त्रका लागि ती महत्वपूर्ण विषय भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्