Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुल्यो

शुक्रबार, फागुन १९, २०७९

जमजुङ– सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे-बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । 

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुंगा–माटो झरेर अवरुद्ध भएको थियो । 

माथिबाट झरेको ढुंगा–माटो डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ । 

पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि रु २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् । 

यो सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ । अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरोमा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्