पर्वतका होमस्टेमा पर्यटकको चहलपहल
पर्वत– पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होमस्टे सञ्चालनमा छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को समयमा ठप्प बनेका अधिकांश होमस्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् ।
गण्डकी प्रदेशकै अग्रणी होमस्टे सेवा दिँदै आएको मोदी गाउँपालिका–८ चित्रेस्थित सामुदायिक होमस्टेमा आउने पाहुनाको संख्या दैनिकजसो बढ्दै गएको छ ।
‘चित्रे ग्रामीण पर्यटन होमस्टे’मा विभिन्न जिल्लाबाट पाहुना आउने क्रम बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेको काखमा रहेको चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरू आकर्षित हुने गरेका छन् ।
अहिले आन्तरिक पर्यटक आउने क्रम कोभिड–१९ भन्दा अघिकै जस्तै हुन थालेको उनले बताइन् ।
पोखरा र काठमाडाँैबाट समेत विभिन्न समूहमा आन्तरिक पर्यटक आउन थालेको गुरुङ बताउँछिन् ।
यहाँ वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । ‘कोभिड–१९ का बीचमा पनि हामीले होमस्टे खुला गरेका थियौँ, अब आन्तरिक मात्र नभएर बाह्य पर्यटक आउने क्रम सुरु भएको छ,’ उनले भनिन्, ‘बिस्तारै पुरानै लयमा फर्किएको अनुभूति भएको छ ।’
चित्रेको होमस्टेलाई व्यावसायिक रूपमा भन्दा पनि सेवामुखी बनाइएको छ । कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउनेको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका ७ घरका लागि त्यो बाध्यता छैन ।
जति बचत हुन्छ, त्यसको करिब २ प्रतिशत वातावरण संरक्षण, शिक्षा, परापर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको सञ्चालक समितिले जनाएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा १ पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।
चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने ‘रुट’ रहेका कारण पदयात्रामा जाने आन्तरिक पर्यटकको संख्या बढेको छ । होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ ।
खानाको रूपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेँडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ ।
चित्रेको होमस्टेका आकर्षणमा अर्गानिक र स्थानीय खानाको स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका सल्लाहकार मधुसोदन अधिकारीले बताए ।
मौलिक कलाको प्रचार र प्रवद्र्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टेमा पुगेका पत्रकार अगन्धर तिवारीले बताए ।
गुरुङ समुदायको बाहुल्य रहेको चित्रेमा गुरुङ संग्रहालय बनाउने तयारी समेत गरिएको स्थानीय वडाध्यक्ष सुकबहादुर गुरुङले बताए ।
उता, जिल्लाको कुश्मा नगरपालिका–३ मा दुर्लुङ, वडा–१४ आर्थर, फलेवास नगरपालिका–२ थापाठाना, जलजला गाउँपालिकाको बाँखसर्क, लेखफाँट, शालिजा, महाशिला गाउँपालिकाको भोक्सिङ, पाखापानी, बालाकोट, लुंखु, बिहादी गाउँपालिकाको गेप्ताङ र बाँच्छा सामुदायिक होमस्टे र पैँयु गाउँपालिकाको चिन्नेखर्कलगायत स्थानमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ ।