सीतापाइलामा सिके सिनेमाज्
काठमाडौँ– आजबाट सीतापाइलास्थित अनुपम मलमा सिके सिनेमाज् सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी छ ।
सिके सिनेमाज्को उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौँ क्षेत्र नम्बर ८ का संघीय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारी उपस्थित थिए ।
प्रमुख अतिथिका रूपमा बोर्ड अध्यक्ष केसीले रिबन काटेर हलको शुभारम्भ गरेका थिए । हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकका लागि मन्दिर भएको बताए ।
सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीका लागि खुसीको कुरा भएकाले सहरमा मात्रै नभई गाउँगाउँमा सिनेमा हल खोल्नुपर्ने भन्दै केसीले सिके सिनेमाज् सञ्चालमा आउँदा सबै उत्साहित भएको उल्लेख गरे ।
यस्तै काठमाडौँ क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकामा सम्पूर्ण जनताका तर्फबाट सञ्चालकलाई धन्यवादसहित बधाई दिए । आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्ने भन्दै उनले सिनेमा हल सबैको साझा सम्पत्ति भएको बताए ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३९१ सिट क्षमता छ । करिब १२ करोड रुपैयाँ लगानीमा निर्माण भएको सिनेमा ७१ र डल्बी एटमोस साउन्ड सिस्टम जडान गरिएको सञ्चालक नरेन्द्र महर्जनले बताए ।
बिहीबार हल सञ्चालनको उपलक्ष्यमा बलिउड सिनेमा पठान र नेपाली सिनेमा फूलबारी देखाइएको थियो । २ पर्दा रहेको हलमा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ प्रदर्शनमा छन् ।