Nic Ad Nic Ad
Nic Ad Nic Ad

जहाँ स्थानीयले नै नदी तरेको पैसा तिर्नुपर्छ !

शुक्रबार, फागुन १९, २०७९

भजनी– कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ ।

स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । ‘दैनिक कामका लागि नगरपालिका आउँदा रू ३० तिरेर नदी तर्नुपर्छ । महिनामा रू नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ,’ स्थानीय रुपक साउदले भने । पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउँदै नगरपालिकाले पैसा उठाएर झनै सास्ती दिने गरेको  उनले गुनासो गरे ।

पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ ।

ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ । यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा संकलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन् । ‘कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो । समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन् । जसले नदी ठेक्काका नाममा वार्षिक लाखौँ उठाउँछन्,’ उनी भन्छन्, ‘नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के हो ?’

टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ । महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ । कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउँछन् । उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए । ‘नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौँ भनेर ठेकेदारको प्रतिक्रिया आउँछ । त्यति भएपछि पैसा त दिनैपर्यो,’ उनले भने । कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो ।

भजनी नगरपालिकाले कान्द्रा नदीलगायत मातहतका नदीलाई ठेक्का दिएको छ । ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुंगा सञ्चालन हुँदै आएको छ । एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए । उनले हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्