Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुरमा निर्माणको चटारो

शुक्रबार, फागुन १९, २०७९

चितवन- यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेकाे छ ।

बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ ।

धेरै सडक बनिरहेका छन् भने ठुला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् ।

सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् ।

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरु भएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठुला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत ८८ करोड रुपैयाँकाे ठेक्कामध्ये महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिए ।

'दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ', उनले भने ।

सोही आयोजनाअन्तर्गत २५ करोड लागतमा निर्माण सुरु गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै ५ किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ ।

यस्तै, देवघाटमा १० करोड लागतमा निर्माण सुरु गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन सुरु गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ ।  यसका लागि ८८ करोड विनियोजन गरिएको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजनाले ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

सोही क्षेत्रमा ६ करोड लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा २ करोडमा कालिका पार्क निर्माण भइरहेको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरु भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार २ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

'नदीलाई ५ भागमा विभाजन गरेर काम भइरहेको छ । 'नारायणी बिच १५ करोड ९२ लाखमा ठेक्का दिएर काम थालिएको छ भने अर्को ठुलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म १ अर्ब १५ करोडमा तटबन्धको काम थालिएको छ । अन्य ३ खण्डको काम सुरु गर्ने तयारी भइरहेको छ', प्रमुख मरासिनीले जानकारी दिए ।

डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म ६ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । १ अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए ।

यस्तै, आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म बाइपास सडकखण्ड निर्माण, ठुला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताए ।

त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म २ खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । संघीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका ५ अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणकाे चरणमा छन् ।

महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनुका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेकाे छ । 

महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इन्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा  कालोपत्र गर्ने काम भइरहेकाे छ ।

महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । रू ५३ करोडमा भवन निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र संघीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिइन् । उनले भनिन्, 'अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि सुरु भएका छन् ।'

पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताइन् । उनले महानगरलाई दक्षिण एसियाकै नमूना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताइन् ।

प्रमुख दाहालले भनिन्, 'भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।' 

भरतपुर विमानस्थल विस्तार र क्रिकेट रंगशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उनको भनाइ छ ।

नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उनले जानकारी दिए । २ अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्यांकन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताए ।

'तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि १ वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ', उनले भने । महानगरलाई नमुना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्