नेभिगेशन
समाचार

रेशम चौधरीलाई भेटेर एमालेले भन्यो–राष्ट्रपतिमा सघाउनुस्

काठमाडौँ –राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत दिन आग्रह गर्दै एमालेका नेताहरूले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका छन् । 

चौधरी भेट्न एमाले नेताहरू डिल्लीबजार कारागार पुगेका  थिए । कैलालीको टीकापुर घटनाका मुख्य आरोपी चौधरी अहिले डिल्लीबजार कारागारमा छन् ।

एमाले नेताहरू योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ र भगवति चौधरी कारागार पुगेर राष्ट्रपतिमा नेम्बाङलाई मत दिन आग्रह गरेका हुन् । 

भेटमा आफूहरूले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने फागुन २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् ।

यसअघि एमाले नेताहरूले शुक्रबार नै लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुलाई भेटेका थिए ।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र एमालेका नेताहरू आ–आफ्ना उम्मेदवार विजय गराउन विभिन्न राजनीतिक दलका सांसद मतदाताहरूलाई भेट गरिरहेका छन् ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार