नेभिगेशन
समाज विविध

मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनालाई नयाँ जीवन

काठमाडौँ –मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ३ जनाले जीवनदान पाएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा फागुन १६ गते मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त २ वटा मिर्गौला र एक कलेजो ३ जना व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो । 

रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ वर्षीय पुरुष र सिरहा नगरपालिका –१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको छ भने ललितपुर महानगरपालिका वार्ड नं. २५ का ६८ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणबारे जानकारी गर्रा ।

उनले भने, ‘अंग प्रत्यारोपणका लागि अंग दान गर्न आवश्यक छ । उपयुक्त कानुन बने पनि कार्यान्वयन पक्ष सोचेजस्तो सफलता देखिएको छैन । यसको मुख्य कारण जनचेतनाको कमी नै हो । नागरिक सचेत भए धेरैको नयाँ जीवन पाउनेछन् ।’

गाडेर खेर जाने वा जलेर खरानी हुने अंगहरु दान दिन सके एक जना मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ८ वटा अंगहरु जसमा २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुटु, १ प्यानक्रियाज, १ सानो आन्द्रालगायतका अंग दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।

नेपालमा मष्तिष्क मृत्यु भएका व्यक्तिबाट प्रत्यारोपण गर्न थालेको ६ वर्ष भएको छ । २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण सुरु भएको थियो । प्रत्यारोपण केन्द्रका अनुसार हालसम्म जम्मा पाँच जना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ ।

मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आफू जीवितै हुँदा मस्तिष्क मृत्युपश्चात अंग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भएपश्चात निजको शरीरबाट अंग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अंग प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अंग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

अंग फेल भएका व्यक्तिहरुले समय–समयमा आफ्नो जाँच गरी प्रत्यारोपणको लागि केन्द्रमा रहेको समन्वय इकाइमा गई प्रतिक्षासूचीमा नाम लेखाउन सक्नेछन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता