Nic Ad Nic Ad
Nic Ad Nic Ad

देवदहमा स्वास्थ्य बीमा सेवा सुरु

शुक्रबार, फागुन १९, २०७९

रुपन्देही –देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा प्रथम सेवा विन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे ।

अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरबासीले बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरू नगर अस्पतालबाटै पाउने छन् ।

देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य बीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो ।

देवदह नगरपालिकाका प्रमुख खरेलले नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर १० शैयाको नगर अस्पताल सञ्चालनमा ल्याएको र ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको बताए ।

स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुख खरेलले घोषणा गरे । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले नगर अस्पतालमा स्वास्थ्य वीमा लागु हुंदा महिला र बालबालिका लाभान्वित हुने बताइन् ।

स्वास्थ्य बीमा बोर्ड रुपन्देहीका संयोजक दिलिपमणि पौडेलले तीन तहको संघीयता कार्यान्वयनमा आएपछि रुपन्देहीका १६ स्थानीय तहमध्ये नगर अस्पताल सञ्चालन र स्वास्थ्य वीमा गर्ने देवदह पहिलो स्थानीय तह भएको बताए ।

बीमा कार्यक्रम लागु भएपछि नगरवासीले नगर अस्पतालमा ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे र ११ सय ३३ थरीका औषधि निःशुल्क पाउने छन् । यसबाहेक नगर अस्पतालमा उपलब्ध नभएका सिटी स्क्यान, एमआरआई, शल्यक्रिया लगायतका सेवाका लागि अन्य अस्पतालमा रिफर हुने भएकाले सेवा पाउन सहज हुनेछ ।

नगर अस्पतालमा नगरपालिकाको स्रोतबाट ३ जना र सरकारी दरबन्दीका एकजना गरी ४ जना एमबीबीएस डाक्टर, ६ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियन, कार्यालय सहयोगी ३ जना कार्यरत रहेका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले बताए । अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्