६ लेन सडकले फेरियो धनगढीको मुहार
कैलाली –सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने ६ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो । ६ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ । धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको छ ।
६ लेन सडकमा पहिलो चरणमा ६ दशमलव ६ किलोमिटरमा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरण र राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको ४० प्रतिशत लागत साझेदारीमा बत्ती जडान गरिएको हो । उपमहानगरपालिका इन्जिनीयर दिजराज भट्टका अनुसार सडकबत्ती जडानका लागि २ करोड ६९ लाख ५८ हजार ४१० रुपैयाँ खर्च भएको छ ।
उपमहानगरको १ करोड ६१ लाख ७५ हजार ४६ र नेपाल विद्युत् प्राधिकरणको १ करोड ७ लाख ८३ हजार ३६४ लगानीमा बत्ती जडान भएको हो । छोटो समयमा धनगढीको बत्ती जडान भएको नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाका प्रमुख श्रीराम पोखरेलले बताए ।
धनगढीमा पहिलो चरणको सडक बत्ती जडानको काम पूरा भएको हो । धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पहिलो चरणमा धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने चोकसम्म स्मार्ट सडकबत्ती जडानको काम पूरा गरेको नगरप्रमुख गोपाल हमालले बताए ।
उपमहानगरभित्रको क्षेत्रमा रातको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दूरीमा स्मार्ट सडकबत्ती जडान गरिएको नगरप्रमुख हमालले जानकारी दिए ।
सडकमा पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ । स्मार्ट सडकबत्ती रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको छ ।
दोस्रो चरणमा भने उपमहानगरको एकल लगानीमा बत्ती जडान गर्ने भएको छ । दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान गर्ने लक्ष्य रहेको छ ।
५ लेन सकडलाई हरियाली बनाउने उद्देश्यका साथ बोटबिरुवा तथा फूलहरूको रोपण कार्यलाई पनि तीव्र पारिएको छ । सडक निर्माणका साथै सडक बत्तीले शहरको सौन्र्दय थपिएको धनगढी–३ का जयराज भट्टले बताए ।
धनगढीको ६ लेन सडक केही फिनिसिङबाहेक काम सम्पन्न भएको छ । यस सडकअन्तर्गत पर्ने सुनिखोला पुल, मनहरा खोला र मोहनामा पुल निर्माण कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला ४ हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ ।
६ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति भइरहेको हो ।
कालिका कन्स्ट्रक्सनसँग धनगढीका ७ वटा सडक कालोपत्रका लागि सन २०२० जुलाई १२ मा सम्झौता गरिएको थियो । सम्झौताको समयावधि आगामी जेठसम्मका लागि थप गरिएको छ ।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण थालिएका सात वटा सडकको भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि छ । चार महिनाको अवधिमा सडक निमार्णको सबै काम सक्ने दाबी निर्माण कम्पनीको छ । कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले जेठभित्र धनगढीका सडक निर्माणको काम सक्ने बताइ ।
धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको १ दशमलव ३८ किलोमिटर, २ दशमलव ७ किलोमिटरको गुल्म–चर्च सडक, ७ सय मिटर लम्बाइको हुलाकी सडक–जाखोर ताल सडक, ३ दशमलव ६५ किलोमिटरको क्याम्पस गेट–चटकपुर सडक, ८ ७० मिटरको धनगढी–खुटिया–स्याउले सडक, ४३० मिटरको मालपोत सडक र १ दशमलव १५ किलोमिटरको हसनपुर सडक कालोपत्रका लागि कालिका कन्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।
डेढ लाखभन्दा बढी जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत सडक निर्माण कार्य तीव्र पारिएको छ । धनगढीको क्याम्पस चोकदेखि फूलबारीसम्म समेत ४ लेनको सडक निर्माण कार्य तीव्र छ । यस सडकमा समेत स्ट्रिट सडकबत्ती जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको छ । धनगढीको मुख्य सडक कैलाली नालादेखि क्याम्पस चोकसम्म पनि स्तरोन्नति गर्ने भन्दै सडकको क्षेत्राधिकार खाली गरिएको छ । यो सडकको अहिले ठेक्का प्रक्रियामा रहेको छ ।