Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्मिताको संघर्ष : बालुवा बोक्नेदेखि कटन क्यान्डी मेसिन चलाउनेसम्म

शनिबार, फागुन २०, २०७९

ढोरपाटन– ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र संख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका संघर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिएकी अस्मिताको म्याग्दीकै मंगा गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । 

विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको संघर्षका दिन सुरु भए । सुरुवाती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्थिन् । उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्दैछन् । 

विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेचिन् । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे ।
विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्ष अघि गणेश स्वदेश फर्किए । धन कमाउन विदेशिएका श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनेकी हुन् ।

६ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गरेका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् । केही रकम सहकारीमा बचत गर्ने गर्छन् । 

‘कुनै–कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ,’ अस्मिता भन्छिन् । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । संघर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउँछिन् ।

‘खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले संघर्र्ष सिकायो ।’ -रासस
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्