Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी र रुसी विदेशमन्त्रीबीच भारतमा भेटवार्ता

शनिबार, फागुन २०, २०७९

नयाँ दिल्ली– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ ।

रुस–युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिकाबीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । 

भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त भेटवार्ता भएको हो । करिब १० मिनेटसम्म चलेको वार्तामा  सामान्य कुराकानी भएको बताइएको छ । 

'लाभरोभले जी-२० को दोस्रो सत्रको बीचमा सङ्क्षिप्त भेट गरेका हुन् ।  यद्यपि त्यहाँ कुनै वार्ता वा वास्तविक बैठक भएन,' द टाइम्स अफ इन्डियाले एक रुसी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार वार्तालापको क्रममा ब्लिन्केनले रुसलाई विशेष सैन्य कारबाही अन्त्य गर्न र अर्थपूर्ण कूटनीतिमा संलग्न हुन, नयाँ रणनीतिक हतियार कटौती सन्धि कार्यान्वयनमा फर्कन र जेलमा बन्दी रहेका पूर्वअमेरिकी मरीन पल व्हेलनलाई रिहा गर्न आग्रह गरेको छ । 

तर रुसी पक्षले अमेरिकाको व्यवहार विश्वसनीय नभएको भन्दै अमेरिकी आग्रह स्वीकार्न अफ्ठेरो भएको बताएको तास समाचार एजेन्सीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्