नारायणगढ–मुग्लिन सडक भोलिदेखि बन्द नहुने
चितवन –नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दिउँसोको समयमा बन्द नहुने भएको छ । नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण ५ पुसदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको सडक आइतबारदेखि बन्द नहुने भएको हो ।
नारायणगढ–मुग्लिन सडक आइतबारदेखि चौबीसै घन्टा खुला रहने नारायणगढ-मुग्लिन सडक, नौबीसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।
पुल बनाउन ५ ठाउँमा पहाड काट्नु परेको छ । त्यसमध्ये तुइन खोलामा मुग्लिन तर्फको पहाडको भागमा कडा चट्टान परेका कारण मेसिनले काम गर्न नसकेर विस्फोट गराइने निणर्य भएको छ ।
विस्फोट गराउने बेलामा केही दिनका लागि एकाध घण्टा बाटो बन्द हुन सक्ने उनले बताए ।
५ पुसदेखि महिना दिनका लागि ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा बाटो बन्द गरिएको थियो । काम नसकिएपछि ५ माघदेखि मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म बाटो बन्द गरिएको थियो ।
कुल १५ वटा पुल बनाउन ३ वर्षअघि काम सुरू भएको थियो । जसमध्ये ९ वटा पुलको काम मात्र लगभग सकिएको छ । ५ वटा पुलको काम सुरूवात हुँदैछ भने एउटा पुलको काम सुरू नै हुन सकेको छैन ।
नारायणगढ–मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिला साँघुरो रहेको यो सडकलाई २ लेनको फराकिलो बनाए पनि पुलहरू पुराना, साँघुरा र कुनै ठाउँ निकै जीर्ण पनि छन् ।