Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेसीँसहर–चामे सडक : २ वर्षमा मात्र ४० प्रतिशत काम

शनिबार, फागुन २०, २०७९

मनाङ –हिमाली जिल्ला मनाङ जोड्ने सडकमार्ग निर्माण सुस्त भएको छ । बेंसीसहर–चामे सडकका निम्ति बजेट विनियोजन भएको लामो समय हुँदासम्म स्तरोन्नति र कालोपत्रे कार्य अघि बढ्न सकेको छैन । 

सडकको २ वर्षमा करिब ४० प्रतिशत मात्र काम भएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि बोलपत्रे आह्वान गरेको थियो । 

सोही बोलपत्रेअनुरूप आशिष अनेस्ट जेभी चितवनले २९ अस २०८० सालसम्म कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित ३० असार २०७८ मा ठेक्का सम्झौता गरेको थियो । कूल ५२ करोड ९६ लाख १६ हजार रुपैयाँ अनुमानित लागत रहेकामा २५ करोड ३२ लाख १३ हजार रुपैयाँ लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो ।

ठेक्का सम्झौताको मिति सकिन चार महिना बाँकी छँदा हालसम्म ४० प्रतिशत मात्रै काम सकेको सडक कार्यालयका प्रमुख अच्युतविलास पन्तले जानकारी दिए । ‘पटक–पटकको बैठकमा निर्माण कम्पनीका मुख्य व्यक्ति उपस्थिति भएनन्’, उनले भने, ‘हामीले २७ फागुन बैठक राखेर त्यो बैठकमा आउन भनेका छौँ, त्यही दिन विस्तृत छलफल हुन्छ ।’ 

सडकमा ग्राभेल गरिएका छैन । नाली निर्माण कार्य ५० प्रतिशत सकिएको उनले बताए । उनका अनुसार कटिङको काम ७० प्रतिशत सकिएको छ । वाल उठाउने कार्य ६० प्रतिशत सकिएको उनले बताए । ‘मुख्य काम भनेको कालोपत्रे हो, जुन अहिलेसम्म ग्राभेल नै भएको छैन, कालोपत्रे हुन्छ भन्ने निश्चित नै छैन’, उनले भने । 

यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । २०६९ सालमा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ । निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको स्थानीयवासीको गुनासो छ । सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने स्थानीयवासीको भनाइ छ । 

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) ५ दशमलव ५ मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ । उनले अहिले पहिलो चरणको काम भइरहेको बताए । सडकको अहिले वाल कटिङ गर्ने, चौडाइ बढाउने, टेवा (पर्खाल) उठाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले जानकारी दिए । 

उनका अनुसार पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा कालोपत्रको काम हुनेछ । धिमा गतिमा सडक निर्माणको काम भएपछि तोकिएको समयमा काम नसकिने उनको भनाइ छ । ‘यस सडकको मात्रै नभएर देशभरका सडकको निर्माणमा ढिलाइ भएको छ, अझ कति त निर्माणको म्याद सकिएको १० वर्षसम्म पनि काम भएको पाइएको छैन’, उनले भने, ‘सक्दो प्रयासमा जुटिरहेका छौँ ।’

उनले आगामी असोजसम्ममा कालोपत्रे सक्ने गरी काम अघि बढेको बताए । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयवासीको गुनासो आइरहेकाले सम्बन्धित पक्षसँग छलफल गर्ने प्रयासमा रहेको बताए । 

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १४:२७
प्रतिक्रिया दिनुहोस्