प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा जान्छ : उपसभापति खड्का
सुर्खेत –नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिए पछि मात्रै नयाँ सरकार गठनको विषयमा छलफल हुने बताएका छन् । शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रममा उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि उनकै नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने पनि खड्काले बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट कर्णालीलाई प्राथमिकतामा राखेर आउने दाबी गर्दै आगामी आर्थिक वर्षको बजेट कर्णाली र सुदूरपश्चिमलाई केन्द्रमा राखेर ल्याइने बताए ।
‘ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली र सुदूरपश्चिममा संघीय बजेट न्यून आउने गरेको यसअघिको परम्परालाई तोड्दै नयाँ बजेट ल्याछौँ’, उनले भने ।
‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू कर्णालीका जिल्लाहरूमा भएका चुनावी अभियानका क्रममा मैले नै कर्णालीलाई बजेटमा प्राथमिकता दिने प्रस्ताव राखेको थिएँ, त्यसमा अहिलेका प्रधानमन्त्री प्रचण्डले समर्थन जनाउनु भएको थियो,’ खड्काले भने, ‘चुनावका बेला गरेको बाचा आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन हुन्छ ।’
सुर्खेत– २ बाट संघीय सांसदसमेत रहेका खड्काले भेरी किनारमा नयाँ शहर निर्माणको काम सुरु गरिएको बताउँदै छिन्चुदेखि उत्तर जोड्ने सडकलाई चार लेनको बनाउनका लागि ठेक्का आह्वान गरिएको बताए ।