सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिने
काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आजै विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि दिउँसो १ बजे मत लिने गरी प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
केन्द्रमा सरकार परिवर्तन भएसँगै शाहलाई विश्वासको मत लिने सजिलो हुने अपेक्षा गरिएको थियो । यद्यपि, ८ दलीय गठबन्धनभित्रकै दलहरू नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीलाई नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री शाहले अझै विश्वस्त पार्न सकेका छैनन् ।
माओवादी केन्द्रले आलोपालोको कुरा ल्याएको छ भने उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरीको रिहाइका लागि लिखित प्रतिबद्धता खाेजिरहेको छ । यसैले गर्दा मुख्यमन्त्री शाहले ८ दलीय गठबन्धनभित्रै आफ्नो पक्षमा सहमति जुटाउन सकिरहेका छैनन् ।
अब आज बिहानैदेखि उनी सहमति जुटाउने कसरतमा लागेको उनको सचिवालयले जनाएको छ । उनले विश्वासको मत लिनुअघि सहमति जुटाउन सर्वदलीय बैठक बोलाउने सम्भावना पनि छ ।
यसअघि, नेकपा (एमाले)बाट निर्वाचित मुख्यमन्त्री राजेन्द्रसिंहले विश्वासको मत पाउन सकेका थिएनन् ।