नेभिगेशन
समाज विविध

४ गाउँपालिकामा विद्युतीकरण अलपत्र

खोटाङ –ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको ४ गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ ।

ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठमाडौँको लापरबाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ सछितापोखरीको विद्युतीकरणको काम अलपत्र परेको हो ।

सम्झौता अनुसार गएको असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ । खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको २ करोड रुपैयाँ विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत् विद्युतीकरणको काम अघि बढाइएको थियो । 

अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २० असार २०७९सम्ममा विद्युतीकरणको काम सक्नेगरी १६ फागुन २०७८ मा १ करोड १० लाख रुपैयाँमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाख रुपैयाँ विद्युतीकरणको काम गर्न  ठेक्का सम्झौता गरेको हो । तर कम्पनीले १ असार २०७९ मा ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगेयता अन्य उपकरण नलगेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताए । 

लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरू अलपत्र पारिएका छन् । डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए ।

विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत् प्राधिकरणले उपलव्ध गराइरहेकोछ ।

निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटी तथा एलटी लाइनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ । ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध