संघर्षका पर्याय चन्द्रबहादुर : जसको शरीरले साथ छाड्यो, तर हिम्मत हारेनन्
काठमाडौँ– आफुले आँटको काम पत्ते गर्न भगवानको पनि साथ हुने सन्दर्भ बताउने एउटा उक्ति नेपाली समाजमा प्रचलित छ, ‘भगवानले पनि भन्छन् त आँट, म पुर्याउँछु ।’
यो उक्तिले कुनै पनि कामप्रतिको लगाव र निरन्तर संघर्षको लागि प्रेरित गर्छ । व्यक्तिमा दृढ इच्छा शक्ति भयो भने अरुले असम्भव ठानेका कतिपय काम सहजै सम्भव तुल्याउन सकिन्छ । त्यही कामले समाजमा उदाहरणको पात्र पनि बनाइदिन्छ ।
त्यस्तै एक उदाहरणका पात्र हुन् काठमाडौंको तारकेश्वरमा रहेको अपाङ्ग सेवा केन्द्रका अध्यक्ष चन्द्रबहादुर खत्री ।
दोलखाको जिरी घर भएका खत्री ७ वर्षका मात्रै थिए तर, उनको शरीरको आधा भागले साथ दिन छाड्यो । बाल्यकालमै अशक्त हुन पुगे । कम्मरमुनीको कुनै पनि अङ्ग नचल्ने भयो । उनले रहर पुग्नेगरी बाल्यजीवन बिताउनसमेत पाएनन् ।
नजिकैको स्कुलमा कक्षा ६ सम्मको अध्ययन गरे । माथिल्लो कक्षा पढ्का लागि टाढा जानुपर्ने भएको त्यो उनको क्षमता बाहिरको कुरा बनिदियो । उनको बाल्यवस्था यति पीडादायी थियो कि जुन उनी अहिले सम्झन पनि चाहँदैनन् ।
उनलाई सानै उमेरमा स्पाइनल कड इन्ज्युरी भयो । जसको कारण उनको दुबै खुट्टाले भर दिदैनन् ।
भौतिकरूपमा उनको शरीर कमजोर बनिदियो तर, मानसिकरुपमा भने उनले कहिल्यै हिम्मत हारेनन् । गाउँले र आफन्तबाट हेपिए तर, उनको आत्मबल कहिल्यै दुर्बल भएन ।
समस्यै समस्याका बीच उनी १४ वर्षको उमेरमा काठमाडौं आइपुगे ।
काठमाडौं आएपछि उनको दैनिक झन पीडायुक्त बन्यो । उनका अगाडि ३ वटा मात्रै विकल्प बाँकी रहे ।
उनी भन्छन्, ‘मेरो अगाडि मर्नु, माग्नु वा सम्मानपुर्वक बाँच्नु जम्मा ३ विकल्प मात्रै थिए । मर्न हिम्मत आएन । माग्न पनि सकिन । बाँच्नका लागि भोक मेटाउने उपाय थिएन् ।’
बाँच्न अर्थात भोक मेटाउनकै लागि सडकको छेउमा बसेर बोत्तलमा पानी बेच्न थालेको उनले सुनाए ।
‘एक छाँक टार्नकै लागि सडक छेउमा धुलो, धुँवा र घाम पानी नभनी संघर्ष गरेको दिन हिजोजस्तै लाग्छ’, खत्रीले निकट विगत सम्झिए ।
पानी बेचेर कमाएको पैसाले जसोतसो भोक त टर्थ्याे तर, त्यसरी कति दिन रहने ? काठमाडौंमा चिने जानेको र सहयोग पाउने कुनै ठाउँ थिएन ।
हेलाहोचो गर्ने आफन्त र गाउँलेका अगाडि आफु कमजोर नभएको सावित गर्ने अठोट मनमा थियो । तर, त्यसलाई आकार दिने आधार भने थिएन ।
पानी किन्न आइपुगेका ग्राहकहरूसँग उनी भन्थे, ‘मलाई केही सीप सिक्ने ईच्छा छ । कतै त्यस्तो ठाउँ भए सहयोग गरिदिनुहोस् ।’
एक दिन एक जना ग्राहकले कीर्तिपुरमा धुप बनाउन सिकाउने ठाँउको बारेमा बताए र त्यसको सम्पर्क विवरण दिए ।
नभन्दै कीर्तिपुरबाट उनले अगरबत्ती बनाउने तालिम लिए । त्यसपछि, साबुन र मैनबत्ती बनाउन पनि सिके ।
केही वर्ष यिनै सीप प्रयोग गरेर काम गरे र केही कमाइ पनि । अब भने खत्रीले आफु कमजोर नरहेको आधार पाए ।
आफुले जानेको सीप आफुजस्तै समस्यामा परेका अरूलाई सिकाउने निधो गरे । त्यसबेलासम्म उनीसँग ३ लाख रुपैयाँ बचतमा थियो ।
त्यसैको लगानीमा २०७० सालमा काठमाडौंको तारकेश्वरमा अपाङ्ग सेवा केन्द्रको स्थापना गरे ।
अहिले त्यहीँ केन्द्रले स्पाइनल कड इन्ज्युरी भएका व्यक्तिहरुलाई आश्रय दिइरहेको छ ।
५ जनाबाट सुरू भएको सेवा केन्द्रमा अहिले २२ जना मानिस छन् ।
अझ भनौ, खत्रीले आफुसहित २२ जना मानिसको जीवन सहज बनाएका छन् ।
‘जीवनमा अहिले पनि खासै सुधार आएको त कहाँ हो र ? तर बिहान, बेलुका के खाने, घाम पानीबाट ओत लाग्न कहाँ जाने भन्ने कुराको चिन्ता छैन’, खत्रीले भने ।
अपाङ्गता भएका मानिसहरुको जीवन सहजिकरण गरिदिनु उक्त सेवा केन्द्रको मुख्य उद्देश्य हो ।
शरीरको केही भागले साथ नदिए पनि आफै कमाएर जिविकोपार्जन गर्न सकिन्छ भन्ने सिकाउन सक्नु नै आफ्नो सफलता रहेको उनी बताउँछन् ।
अहिले उक्त सेवा केन्द्रमा रहेका व्यक्तिहरुले हातैले बुनेर बनाउन सकिने विभिन्न सामाग्री बनाउँछन् । त्यसैको आम्दानीले जिविकोपार्जन गर्छन् ।
विभिन्न प्रकारका खेलौना, साबुन, मैनबत्ति, बस्नको लागी प्रयोग हुने मुढा, सोफामा राखिने कुशन उक्त सेवा केन्द्रमा बन्ने गरेको खत्रीले बताए ।
त्यहाँ बनेका कतिपय सामानहरु सेवा केन्द्रबाटै बिक्री हुन्छ । कतिपय चाहिँ फुटपाथमा बसेर पनि बेच्ने गरिएको खत्रीले बताए । तर, महानगरले फुटपाथमा सामान बेच्न नदिने नियम बनाएसँगै आफुहरुले बनाएको सामान बिक्रीमा समस्या उत्पन्न भएको उनले बताए । फुटपाथबाटै दैनिक करीब ३ हजारसम्मको व्यापार हुने गरेको उनी बताउँछन् ।
त्यसरी सामान बिक्रीबाट महिनामा करीब एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । तर, फुटपाथमा व्यापार गर्न नपाएपछि सेवा केन्द्रको आम्दानी घटेको खत्री बताउँछन् ।
त्यही आम्दानीबाट सेवा केन्द्रमा आश्रय लिइरहेका व्यक्तिहरुको थेरापी, खाद्यन्न, लत्ताकपडा लगायतको व्यवस्थापन हुने गरेको उनले बताए ।
केन्द्रमा रहेका २२ जना मानिसले हप्ताको ६ दिन विहान १० बजेदेखी ५ बजेसम्म काम गर्छन् ।
राज्यले आफुहरूको व्यवस्थापनमा कुनै सहयोग नगरेको बरू आफ्नै प्रयासमा जिविकोपार्जन गर्दा पनि अवरोध गरिरहेको उनी बताउँछन् ।
‘हाम्रो सुविधाको लागी समय समयमा आवजहरु त उठ्ने गरेका छन् । तर, सुनिदिने कोही छैन् । घरपरिवारबाट त हेपिएका हामीले बाँच्नका लागि संघर्ष गर्नुको विकल्प छैन’, उनले पीडाभाव सुनाए ।
तर, शारीरिकरूपमा अशक्त भए पनि मानसिकरुपमा अरू भन्दा कमजोर नरहेको खत्री बताउँछन् ।