नेभिगेशन
समाज विविध

माध्यमिकी परिक्रमाका यात्री जनकपुर आइपुगे

जनकपुर– मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार जनकपुरधाम आइपुगेका छन् । 

भारतको विशौलबाट पदयात्रा गर्दै परिक्रमा यात्री पूर्णिमाका दिन सोमबार जनकपुरधाम आइपुगेका हुन् ।

मंगलबार जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा पदयात्रा सम्पन्न हुनेछ । मिथिला माध्यमिकी परिक्रमामा पैदल यात्रीहरू हनुमानगढी, तिरहुतिया गाछी, बाह्रबिघा मैदान र विभिन्न मठमन्दिरहरूमा बास बस्ने गर्छन् ।

मंगलबार बिहान अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा यात्रा पूरा हुनेछ । त्यसपछि यात्री तथा श्रद्धालुहरू आ–आफ्नो घर फर्किनेछन् ।

फागुन ८ गते जनकपुरधामको हनुमानगढीमा जम्मा भएर परिक्रमा पैदल यात्राको आरम्भ भएको थियो । हनुमानगढीबाट सुरु भएको पदयात्रा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेको हो ।

माध्यमिकी परिक्रमामा भाग लिन नसकेका श्रद्धालुहरू अन्तरगृह परिक्रमामा सहभागी भएमा मोक्षको भागी बन्ने धार्मिक विश्वास छ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल छन् । 

हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १०५ र भारतको २८ गरी१३३ किलोमिटरको दुरी पैदल यात्रा गर्छन् ।

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित