Nic Ad Nic Ad
Nic Ad Nic Ad
ह्याप्पी हाेली

रङसँगै रमाए पर्यटक [तस्बिरहरू]

सोमबार, फागुन २२, २०७९

पोखरा– नेपालको पर्यटकीय नगरी पोखरा । पोखराको पनि लेकसाइड पर्यटकको केन्द्र । आज यहाँ रहेका विभिन्न देशका पर्यटक होलीको रङमा रमाएका छन् । 

होली नेपाली परम्पराको रङको पर्व । आपसमा रङ खेलेर यो पर्व मनाउने गरिन्छ । 

विभिन्न रङमा रंगिएर नाचगान गर्दै रमाएका नेपालीसँग मिसिन पुग्छन् विदेशी पर्यटक पनि । विदेशी पर्यटक पनि आज यहाँ नेपालीसरह नै रङमा रमाए । निकै खुसी हुँदै विभिन्न रङ लगाउँदै होली खेले । 

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन रेवान पोखराले फागु पूर्णिमाको अवसरमा आयोजना गरेको होली महोत्सव कार्यक्रमा विभिन्न देशका ५०० भन्दा बढी पर्यटकले एकअर्कामा रङ लगाएर रमाएका थिए । 

होलीको रङसँगै रमाइरहेका जर्मन नागरिक मरियसले यो विशेष दिनले निकै खुसी दिएको बताए । ‘निकै खुसी लागेको छ, पोखरामा आएर रङसँग रमाउन पाउँदा आनन्द पनि लागेको छ । सबै जनालाई खुसी देखेको छु,’ उनले भने ।

‘यहाँ कसैले को कहाँबाट आएको र को कुन धर्म मान्ने भनेर कसैले सोधेनन् । सबैले सबैलाई सम्मानपूर्वक रङ लगाइदिए । मलाई यो समानता निकै मन पर्‍यो,’ उनले होलीलाई विभेदरहित पर्वको पनि सङ्ज्ञा दिए ।

202303061404-bc70689f-6708-43ff-913e-3ecde71b9683_medium1678100446.jpg

उनीसँगै रहेका अर्का जर्मन नागरिक डेनियलले पनि रङसँग खेल्दा तनावको अनुभूति नभएको, बडो रमाइलो अनुभूति भएको प्रतिक्रिया दिए ।

अन्नपूर्ण बेस क्याम्प जान आएका डेनियलले आजको दिनले ऊर्जा थपेको र खुसी बढेको अनुभव सुनाए । आफूलाई निलो रङ एकदम मन पर्ने भन्दै उनी सोही रङसँग निकै रमाए । आफूले पनि रङ दले भने अरूलाई पनि लगाइदिए । 

त्यसैगरी ३ हप्ताअघि बेल्जियमबाट नेपाल आएकी लिसाले पनि रङसँग रमाएको आजको दिन जीवनमा यादगार हुने बताइन् । 

लमजुङको बेँसीसहरको एक स्कुलमा स्वयंसेवीका रूपमा काम गर्दै आएकी उनी पोखरा घुम्न आउँदा रङसँग रमाउन अवसर मिलेको बताइन् । 

‘म खुसी छु, जीवनको पहिलो अनुभव हो यो । रङसँग रमाएको यो अवसरका लागि सबैलाई धन्यवाद,’ लिसाले भनिन् ।

इलामको चियाबारे अध्ययनका लागि नेपाल आएकी होल्यान्डकी एल्काले पनि रंगीविरंगी रङमा रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिइन् । 

उनले हरेक देश र नागरिकको आआफ्नो संस्कार र संस्कृति हुने र एकअर्काले त्यसको सम्मान गर्न सके खुसी मिल्ने बताइन् । 

उनले रेवानले आयोजना गरेको कार्यक्रमले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसरसमेत प्रदान गरेकामा खुसी व्यक्त गरिन् । .

202303061405-164b8277-a99a-413c-86d3-edee4d9a02fe_medium1678100446.jpg

रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले रेवानले हरेक वर्ष फागु पूर्णिमा होली विशेष महोत्सव गर्दै आएको र यस वर्ष पनि विदेशी पर्यटकको उल्लासमय उपस्थितिका लागि कार्यक्रम गरेको बताए । 

‘कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो, विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ । यो हाम्रो संस्कृतिप्रतिको सम्मान हो,’ पौडेलले भने । 

हरेक संस्कार संस्कृतिको आआफ्नै महत्व हुने र त्यसको महत्व उजागार गर्न सके पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने उनको भनाइ थियो । 

उनले पर्यटन प्रवद्र्धनका लागि रेवानले सांस्कृतिक र धार्मिक, सामाजिक पक्षलाई समेत ध्यान दिएर विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्यसमा विशेष गरी विदेशी पर्यटकलाई लक्षित कार्यक्रममा जोड दिएको बताए । 

202303061424-d88a9a1f-0d78-4307-87f9-15f350184d39_medium1678100446.jpg

महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्‍याली निकालिएको थियो ।

रेवानका महासचिव विकास भट्टराईले होलीका क्रममा हाम्रो देशको संस्कृति जानकारी दिन सकियोस् भनेर पञ्जेबाजाका साथै अन्य नाचगान पनि गरिएको उनले बताए ।
 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्