नेभिगेशन
समाज विविध

किराँत संग्रहालयको काम अन्तिम चरणमा

भोजपुर– किराँत राईको बाहुल्य रहेको भोजपुरमा संग्रहालयसहितको यलम्बर सभाहल निर्माण अन्तिम चरणमा पुगेको छ । 

किराँत राईको संस्कार, संस्कृति तथा आदिमकालमा प्रयोग हुने ऐतिहासिक सामग्रीको संग्रहालय (माङ्खिम घर) बनाउने लक्ष्यका साथ थालिएको काम ९५ प्रतिशत सकिएको किराँत राई यायोक्खा भोजपुरका संयोजक दिलमान खिम्दुङ वान्तवा राईले जानकारी दिए ।

कोसी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन कार्यालय धनकुटाको ३ करोड १७ लाख लागतमा भवन निर्माण भइरहेको छ ।

भोजपुर नगरपालिका–६ देउरालीमा ४ रोपनी ९ आना क्षेत्रफलमा निर्माण भइरहेको ३ तले सभाहलको पहिलो तलामा किराँत संग्रहालय, दोस्रो तलामा पार्टी प्यालेस, तेस्रो तलामा सभाहल र त्यसमाथि २० फिट अग्लो किराँत राईको विभिन्न संस्कारमा प्रयोग हुने चिन्डो (वाबुक) राखिने उनले बताए । 

संग्रहालयलाई विश्वको अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उनको भनाइ छ । ‘किराँत राईले परापूर्वकालमा प्रयोग गर्ने सामग्रीको संग्रह गर्ने उद्देश्यले यहाँ भवन निर्माण भइरहेको छ । यसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना छ,’ राईले भने ।

यस संग्रहालयले राई समुदायको इतिहास झल्काउनाका साथै किराँत संस्कृतिको रक्षा गर्न योगदान पु¥याउने उनले बताए ।

किराँत सभ्यताअनुसार अरुण नदी पूर्वलाई पल्लो किराँत र सुनकोसी नदीयताको भागलाई माँझ किराँत भनिने भएकाले निर्माण भइरहेको भवन माझ किराँतमा पर्ने उनको भनाइ छ ।

भवनको अवलोकन गर्दै कोसी प्रदेश सांसद सिर्जना राईले आवश्यक संरचना निर्माणका लागि बजेटको कमी हुन नदिने बताइन् । आफू किराँत राई यायोक्खा भोजपुुरको अध्यक्ष रहँदा भवन निर्माण थालिएको बताउँदै उनले संग्रहालय निर्माणले किराँत सभ्यताको पहिचान जोगाउन योगदान पु¥याउने धारणा राखिन् ।

निर्माण तीव्र गतिमा भइरहेको सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले जनाएको छ । कार्यलाई गुणस्तरीय बनाउन अनुगमन तथा निरीक्षणसमेत भइरहेको कार्यालयका इन्जिनियर रामफुल चौधरीले बताए ।

‘भवनको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने २ करोड ६४ लाख भुक्तानी भइसकेको छ,’ उनले भने । 

संग्रहायसहितको सभाहल सम्पन्न भएपछि किराँत संस्कृतिको संरक्षण हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटनमा समेत टेवा पुग्ने पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

‘स्थानीय सरकारले विभिन्न जातजाति, धर्म, संस्कार संकृतिको संरक्षणका लागि काम गरिरहेका छौँ,’ उनले भने । 

सभाहलको शिलान्यास २०७७ कात्तिक २३ गते कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले गरेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित