Nic Ad Nic Ad
Nic Ad Nic Ad

३ करोडको बन्यो मीनाले ७ कक्षामा पढ्दा सुरु गरेको पुष्प व्यवसाय 

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– ‘के काम गर्छौ भन्दा फूल पसल छ भन्थेँ । मानिसहरू हाँस कि कुखुराको भनेर गिज्याउने गर्थे । कति भने कुन मन्दिरमा फूल बेच्ने गर्छौ भन्थे ।’

अनुहारमा मिठो मुस्कानसहित मीना तामाङ श्रेष्ठ आफ्नो व्यवसायको सुरुआती दिन सम्झिन्छिन् । ती दिन सम्झिँदा अहिले त उनलाई कथा जस्तै लाग्ने गर्छ । 

सानै उमेरदेखि फूल स्याहार्न रुचि राख्ने मीनाको दिनचर्या अहिले फूलसँगै कट्ने गर्छ । विद्यालयमा पहिलो पटक फूलको प्रशिक्षणमा सहभागी हुन पुगेकी मीनाले अहिले फूलसँग गहिरो सामीप्य जोडेकी छिन् ।

mina (1)1678155538.jpg

कक्षा ७ मा पढ्दा नै मीनाले साथीहरूसँगको सहयोगमा फ्लावर सप खोलिन् ।

‘हामीले घरमा भएको केही रकम जोहो ग¥यौँ र बाँकी सापटी लिएर १ लाख ५० हजार रुपैयाँको लगानीमा फूल व्यवसाय थालेका हौँ, त्योबेला नेपालमा फूल खेती गर्नु चुनौतीपूर्ण थियो’, मीना सम्झिन्छिन् ।

mina (2)1678155538.jpg

त्यही १ लाख ५० हजारबाट सुरु भएको उनको व्यवसायमा अहिले ३ करोड रुपैयाँ लगानीको बनिसकेको छ ।

पैसाको खाँचो भएर भन्दा पनि बिदेसिनुभन्दा नेपालमै केही गरौँ भन्ने भावनाले यो व्यवसाय थालेको उनको भनको भनाइ छ ।

मीनाले यो व्यवसाय सुरु गरेको झन्डै २५ वर्ष भयो । नेपालमा पुष्प व्यवसायमा धेरैको चासो भएको पाइँदैन । तर, उनले यही व्यवसायबाटै राम्रो आम्दानी गरेकी छिन् । 

mina (6)1678155538.jpg

 

‘पुष्प व्यवसायमा मान्छेको खासै चासो छैन । तर, यसमा राम्रै आम्दानी छ,’ उनी भन्छिन् ।

२०५२ सालमा उनले पुष्प खेती सुरु गर्दा भविष्य कस्तो होला भन्ने चिन्ता पनि मनमा थियो । व्यवसायलाई सफल बनाउन उनले उत्तिकै मिहिनेत गरिन् । फलस्वरूप उनले अहिले धेरै युवालाई रोजगारीसमेत प्रदान गरेकी छिन् ।

यो व्यवसायबाटै सफलता हासिल गर्छु भनेर उनले कहिल्यै सोचेकी थिइनन् । तर गर्दै जाँदा सबै सम्भव हुँदोरहेछ भन्ने अहिले उनलाई लाग्छ । प्रशिक्षण लिइसकेपछि फूललाई कसरी स्याहार्ने भन्ने थप ज्ञान उनले पाइन् ।

mina (4)1678155538.jpg

उनले फूलको व्यावसाय सञ्चालन गर्ने बेलामा पैसा तिरेर फूल किन्ने चलन त्यति थिएन । फूललाई पनि कसैले पैसा तिर्छ ? भनेर उल्टै प्रश्न गर्ने गरेको मीना बताउँछिन् ।

‘हामीले सुरु गर्दा फूल कसरी स्याहार गर्ने भनेर पनि बुझाउनुपथ्र्याे । हामीलाई ६–७ वर्ष त साह्रै समस्या भयो । तर, बिस्तारै मानिसहरूले फूलको महत्व बुझ्दै गए । अहिले हाम्रो व्यावसाय राम्रो चलेको छ,’ मीना भन्छिन् ।

उनले पुष्प व्यवसाय सुरु गरेको समयमा फूललाई बुकेमा राखेर सजाउने चलन पनि थिएन । बिस्तारै घरमा फूल सजाउने प्रचलन पनि बढ्दै गयो ।

mina (7)1678155538.jpg

काठमाडौँ प्लाजाबाट सुरु गरेको उनको पसल अहिले बौद्ध र दरबारमार्गमा पनि छन् । आफू एक्लैबाट सुरु गरेको सो व्यवसायमा हाल उनका पति र परिवार दुवैको महत्वपूर्ण भूमिका छ । 

पहिले एक जनाबाट सुरु गरेको उनको पुष्प व्यवसायमा अहिले उनीलगायत ३० जना कार्यरत छन् ।

mina (5)1678155538.jpg

सामान्य दिनमा मासिक करिब डेढ लाख रुपैयाँसम्मको व्यापार हुने गरेको मीना बताउँछिन् । अफ सिजनमा व्यापार अलिक कम हुने तर आत्तिन नहुने उनको भनाइ छ ।

‘अफ सिजनमा हामीले कपडाको फूल बनाउनेलगायत काम गर्छौँ । दुबो, पानीअमलाका पातहरू ल्याएर राख्छौँ,’ उनी भन्छिन् ।

उनी पुष्प व्यवसायलाई पनि आर्थिक पाटोका रूपमा अगाडि बढाउन सकिने बताउँछिन् । कति त वैदेशिक रोजगारीमा पनि फूल खेतीकै लागि गएको उनको भनाइ छ ।

mina (3)1678155538.jpg

मिहिनेत र लगावसहित जुन क्षेत्रमा काम गरे पनि एक न एक दिन सफल भइने मीनाको बुझाइ छ ।

सानो लगानीबाट थालेको व्यवसाय अहिले ३ करोड लगानीको बनिसकेको छ । मीना भन्छिन्, ‘क्षणिक समयलाई मात्र सोचेर त केही हुँदैन । तर, मिहिनेत गर्यो भने नहुने केही छैन ।

उनका अनुसार सरकारले युवा वर्गलाई लक्षित गरेर तालिमको व्यवस्था गर्न सक्यो भने यो व्यवसायबाट पनि लाभ लिन सकिन्छ । अझ विदेशको प्रविधि प्रयोग गरेर त्यही अनुसार खेती गर्न सकियो भने झन् फाइदा हुने मीना बताउँछिन् ।

यसका लागि सम्बन्धित सबै निकायले फूल खेती गर्ने कृषकहरूको समस्या के छ भन्नेतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्