नेइमारले यो सिजनका सबै खेल गुमाउने
काठमाडौँ– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिली फरवार्ड नेइमार घाइते भएसँगै उनले जारी सिजनका बाँकी खेल गुमाउने भएका छन् ।
गत १९ फेब्रुअरमा लिलमाथि ४–३ ले को जित निकालेको खेलमा नेइमारले दाहिने खुट्टामा चोट बोकेका थिए ।
सोही खुट्टाको चोटको शल्यक्रिया गर्नुपर्ने भएकाले सिजनको बाँकी खेल गुमाउने भएको क्लबले जनाएको छ ।
नेइमार पूर्ण रूपमा फिट हुन कम्तीमा ३ देखि ४ महिना लाग्ने क्लबले जनाएको छ । सो बेलासम्म यो सिजनका खेलहरू सकिने छन् ।
नेइमार नहुँदा पिएसजीलाई विशेषगरी च्याम्पियन्स लिगमा घाटा हुने देखिन्छ । पिएसजीले बुधबार राति च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्दैछ । पहिलो लेगमा पिएसजी १–० ले पछि परेको छ ।
३१ वर्षीय नेइमार सन् २०१४ मा घरमै भएको विश्वकपको क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा गम्भीर घाइते भएका थिए । त्यसयता उनी प्रायः घाइते भइरहन्छन् ।
घाइते भएकै कारण उनले सन् २०१९ मा घरमै भएको कोपा अमेरिका पनि गुमाएका थिए । उनीविनाको ब्राजिल विजेता बनेको थियो ।