पर्सा निकुञ्जभित्र पोखरी निर्माण
वीरगन्ज– पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज उपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको संख्या वृद्धि भएको छ ।
निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको संख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रूपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दै गएको हो ।
त्यसैगरी, निकुञ्जभित्र १६३ गौरीगाई, ४० देखि ५० वटा जंगली हात्ती र ८ देखि १० वटाको संख्यामा एकसिंगे गैँडा रहे पनि तथ्यांकमा ३ गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिए ।
निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरूको संख्या वृद्धि भएको उनले बताए ।
करिब १६ हजार हेक्टर क्षेत्रफलमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जंगली कुकुर, नीलगाई र गौरीगाई जस्ता ३७ प्रजातिका स्तनधारी जनावर, ४९० प्रजातिका चराचुरुंगी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीको वासस्थान छ ।
नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको जंगल क्षेत्रलाई समेटेर निकुञ्ज बनाइएको हो ।