Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

मंगलबार, फागुन २३, २०७९

मनाङ– यहाँ आउने पर्यटक तथा स्थानीयबासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)ले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । 

अन्नपूर्ण पदमार्गमार्फत आउने पर्यटक तथा स्थानीयबासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको अन्नपूर्ण क्षेत्र संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो । 

विशेष गरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापनाकालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी ९९५ जनाले स्वास्थ्य सेवा लिएका छन् । 

चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष ४९१ र महिला ४३८ गरी ९२९ र विदेशी पुरुष ४२ र महिला २४ गरी ६६ पर्यटकले निःशुल्क सेवा लिएको उनले बताए ।

विशेष गरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जान मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उनले बताए । 

‘मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सीधै माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ । लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्छन्,’ उनले भने, ‘विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।’

बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उनले बताए । पर्यटकमा बढी मात्रामा लेक लाग्ने समस्या भएको हुन्छ भने स्थानीयमा अन्य समस्या लिएर स्वास्थ्य सेवा लिने गरेका उनको भनाइ छ ।

‘मनाङ यात्राको क्रममा बिरामी परेर आएका पर्यटकलाई औषधिसहित परामर्श दिने गरेका छौँ,’ उनले भने, ।

बिरामीलाई सेवा प्रवाह गरिए पनि परामर्श केन्द्र स्थापना गरेर भने सेवा प्रवाह गर्न नसकिएको उनले बताए । लेक लाग्दा हुने झाडापखाला, वान्ता हुने समस्या लिएर आउने पर्यटकलाई सेवा प्रवाह गरिएको उनले बताए । 

स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए ।

उनका अनुसार यससँगै महिला पाठेघरसम्बन्धी समस्या लिएर पनि आउने गरेका छन् । 

पाठेघरको उपचार पूर्ण रूपमा नहुने भए पनि परामर्श र प्रिस्क्राइब भएका औषधि उपलब्ध भएसम्म बिरामीलाई दिइने गरेको उनले बताए ।

थप समस्या देखिएमा बिरामीलाई सम्बन्धित चिकित्सक वा अस्पतालमा उपचारका लागि जान परामर्श गर्ने गरिएको उनले बताए ।

उनका अनुसार जोर्नी दुख्ने, श्वासप्रश्वास, उच्च रक्तचाप, रुघाखोकी, लेक लागेर झाडापखाला, वान्तालगायत चिसोका कारण हुने समस्या भएका बिरामीलाई एक्यापले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । 

पदयात्राका लागि पर्यटक मनाङ आउने समय भएको छ । यस वर्ष हिमपात कम भएकाले पर्यटक अफसिजनमा पनि आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

‘दैनिक रूपमा पर्यटक आउन थालिए सकेका छन्, दैनिक करिब ५० पर्यटक मनाङ भित्रिरहेका छन्,’ उनले भने ।

पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेसन म्याप ९स्थानको नक्सा० निर्माण गरिएको उनले बताए ।

‘हिमपात भइरहने हो मनाङ, गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोस्टिङ, आवश्यक संकेत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन,’ उनले भने । 

५ हजार ४१६ मिटर उचाइमा रहेका कथोराङ्ला जाने पदमार्ग र ५ हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो तालसम्मको पदमार्गमा सेतो, पहेँलो र निलो रङका पोल राखिएको छ ।

उक्त क्षेत्रमा ३÷४ फिटसम्मको हिमपात हुन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी बाटो पहिचानका लागि विभिन्न रङको पोल राखिएको आयोजना प्रमुख गौतमले बताए । 

उनका अनुसार सहज रूपमा बाटो पहिचान होस् र पर्यटकलाई यात्रा सजिलो बनाउने उद्देश्यले पोल राखिएको हो । बाटोको भौगोलिक अवस्थाअनुसार एकपछि अर्को स्थानको पोल देखिने गरी उक्त क्षेत्रमा पोल राखिएको आयोजनाले जनाएको छ । 

पोल राखिँदा पटकपटक उक्त मार्गबाट यात्रा गरिसकेका पर्यटकले बाटो पुरिँदासमेत पहिचान गर्न सक्छन् भने पहिलो पटक जाने पर्यटकलाई बाटो पहिचान गर्न सहज हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्