Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहीबारदेखि बुद्ध एयरले पोखरा–भद्रपुर उडान सुरु गर्दै

मंगलबार, फागुन २३, २०७९

पोखरा–निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ । ९ मार्च ९ बिहीबारदेखि बुद्ध एयरले पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालेको छ । पोखरा–भद्रपुर उडानले पश्चिम बंगाल हुँदै भित्रिने भारतीय पर्यटक र नेपालको पूर्वी भेगबाट पोखरासम्म आउजाउ गर्ने आन्तरिक पर्यटकलाई सहज हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताए ।

उनका अनुुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन विश्राम हुने गरी बुद्धले कम्तिमा ४ वटा जहाज पोखरामा राख्दैछ । तिनै जहाजबाट विभिन्न गन्तव्यसम्म उडानको तयारी थालिएको कर्णले बताए ।

कर्णका अनुसार पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुनेछ ।

त्यस्तै व्यावसायिक कामकाजले आउजाउ गर्ने व्यवसायीलाई पनि यो सेवाले सहज बनाउने उनको भनाइ छ । अहिले भद्रपुरसम्म हवाईजहाजबाट आउजाउ गर्नुपर्दा काठमाडौं हुँदै यात्रा गर्नुपर्छ । त्यसले गर्दा २ पटक उडान गर्नुपर्नेमा अब त्यो बाध्यता हट्ने उनले बताए । 

अहिले पोखराबाट स्थलमार्गमार्फत भद्रपुर पुग्दा कम्तिमा १५ घण्टासम्म यात्रा गर्र्नुपर्छ । सिधा उडानले आन्तरिक गन्तव्य इलामसहित भारतका दार्जिलिङ, सिक्किमसहितका गन्तव्यमा आउजाउ गर्न सहज हुनेछ । त्यस्तै काकडभिट्टा नाकाबाट गरिने आर्थिक कारोबारलाई पनि सहज हुने कर्णले बताए ।

कर्णका अनुसार बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरामै रात्री बिसान भएका जहाजलाई बिहानै विभिन्न गन्तव्यसम्म उडान गर्ने तयारी बुद्धको छ । बुद्धले अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा र नेपालगञ्ज दैनिक उडान गरिरहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्