Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा फौजदारी मुद्दा दर्ता, बिहीबारको लागि तोकियो पेसी

मंगलबार, फागुन २३, २०७९

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को ३ वर्ष पुरानो अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन दर्ता भएको हो ।

यसअघि सर्वोच्च प्रशासनले नै उक्त रिट दरपीठ (दर्ता गर्न नमिल्ने) भनेर फिर्ता पठाएको थियो । तर, रिट निवेदकहरूले सिधैं सर्वोच्च प्रशासनको दरपीठविरुद्ध सिधै इजलासमा निवेदन दिएका थिए । 

सोही निवेदनमा गत शुक्रबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सुनुवाई हुँदा निवेदकहरूको रिट दर्ता गर्न दिनु भन्ने आदेश दिएको थियो ।

सोही आदेशको आधारमा द्वन्द्वकालिन विषयलाई लिएर प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । 

२०७६ को माघ १ गते खुल्लामञ्चमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मा आफूले लिने र बाँकी १२ हजारको जिम्मा राज्यले लिनुपर्ने बताएका थिए । 

सोही अभिव्यक्तिलाई प्रमाणको रूपमा लिएर फौजदारी अभियोग अन्तर्गत प्रचण्डविरुद्ध मुद्दा दर्ता हुन लागेको हो । रिट दर्ता भएपछि त्यसको सुनुवाईको लागि आगामी बिहीबारको लागि पेसी तोकिएको सर्वोच्च प्रशासनले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्