Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक शिक्षक एक ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी !

मंगलबार, फागुन २३, २०७९

बागलुङ– अचेल विद्यालयको पठनपाठन प्रविधिको प्रयोगबाट सञ्चालन गर्ने चलन बढेको छ ।

कुनै समय खरिपाटीमा पढाउने शिक्षक अहिले ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टेलिभिजनबाट श्रव्यदृश्य सामग्री देखाएर पढाउन सक्ने भएका छन् ।

जिल्लाको बागलुङ नगरपालिका–९ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङमा गत वर्षदेखि प्रत्येक कक्षामा स्मार्ट टिभी जडान गरेर शिक्षकले ल्यापटपको माध्यमबाट शिक्षण सिकाइ थालिएकामा यस वर्ष सिगाना माध्यमिक विद्यालय लामीचौरमा समेत प्रविधिको माध्यमबाट शिक्षण सिकाइ थालिएको छ 

नगरपालिकाको आर्थिक सहयोगमा विद्यालका सबै कक्षाकोठामा स्मार्ट टिभी जडान गरिएको छ भने शिक्षकलाई ल्यापटप प्रदान गरिएको छ ।

कक्षा ६ देखि १० सम्मका ५ वटा कक्षाकोठामा ५५ इन्चको स्मार्ट टिभी जडान गरिएको छ । विद्यालयका शिक्षकलाई ल्यापटप वितरण गरिएको छ ।

शिक्षकले ल्यापटपमा भएको पाठ्यसामग्री स्मार्ट टिभीमा देखाउन सक्ने गरी प्रविधिको विकास गरिएको र विद्युत् नभएको अवस्थामासमेत पढाउन सक्ने व्यवस्था मिलाइएको सिगाना माध्यमिक विद्यालय लामीचौरका प्रधानाध्यापक चन्द्र मल्लले जानकारी दिए ।

ल्यापटपबाट विद्याथी पढाउन शिक्षकले तालिम लिइरहेको मल्लले जानकारी दिए । ‘केही शिक्षकले मात्रै ल्यापटप चलाउन जान्नुहुन्छ । उहाँहरूले अहिले दिनको एउटा कक्षा प्रविधिको प्रयोगबाट लिइरहनुभएको छ, अन्य शिक्षकले ल्यापटप चलाउन सिक्दै हुनुहुन्छ, एक शिक्षकले अर्को शिक्षकलाइसमेत सिकाउनुभएको छ’, मल्लले भने । 

कम्तीमा दैनिक २ पिरियड मात्रै भए पनि डिजिटल माध्यमबाट अध्यापन गराउन सकिन्छ भन्ने उद्देश्य राखिएको छ । 

विद्यालयमा हाल १४६ विद्यार्थी छन् । बसाइँसराइले विद्यार्थी क्रमशः घट्दै गएको बताइएको छ । 

डिजिटल माध्यमबाट अध्यापन गराउदा विद्यार्थीमा सिकाइ उपलब्धि बढेर जाने र विद्यार्थीसमेत प्रविधिमा निपूर्ण हुने शिक्षकको भनाइ छ ।

विद्यालयमा कक्षाकोठा अभाव भए पनि २ वर्षअघि मात्रै स्थानीयसँग चन्दा उठाएर एक तला पक्की भवन निर्माण गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्