Nic Ad Nic Ad
Nic Ad Nic Ad

दूधको उत्पादन बढाउन माग

मंगलबार, फागुन २३, २०७९

बागलुङ– अधिकांश समय बागलुङ दूधमा आत्मनिर्भर जस्तै छ । तर, सुख्खा मौसममा यहाँ केही दूध पोखराबाट ल्याउने गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांकअनुसार बागलुङमा हरेक वर्ष २ करोड ४९ लाख ९१ हजार लिटर दूध उत्पादन हुने गर्छ । तर, अझै उत्पादन बढाएमा दूधको बिक्रीमा समस्या छैन ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दीपक गौतमका अनुसार शुद्ध दूध खानका लागि पुगेको जस्तो देखिए पनि दूधका परिकार बनाउने गरी उत्पादन छैन । जसका कारण मिठाइलगायत परिकार बागलुङमा बन्दैनन् ।

बलेवा र कुश्मीसेरातर्फका केही किसानले पर्वतको कुश्मा लगेर दूध बेच्छन् । यी गाउँबाट सीधै पोखरा पनि दूध पठाउने गरिएको छ । पोखरा सीधै दूध पठाउँदा किसानले राम्रो मूल्य पाउँछन् । 

तर, जिल्ला बाहिर जाने दूध पनि पर्याप्त छैन । दैनिक २–४ क्यान बेच्ने किसानले मिहिनेतअनुसारको कमाइ पाउन सकेका छैनन् । कतिपय ग्रामीण बजारमा दूध अभाव छ ।

कृषि मन्त्रालयको अध्ययनअनुसार १ जना मानिसलाई वार्षिक ९१ लिटर दूध आवश्यक पर्छ । राष्ट्रिय रूपमा निकालिएको लक्ष्यको हिसाब गर्दा बागलुङमा भने प्रतिव्यक्ति ९३ लिटर पुग्ने गरी दूध उत्पादन भइरहेको छ ।

यहाँका कर्मचारी र बाहिरबाट आएर बस्ने विद्यार्थीसमेतको तथ्यांक जोड्दा त्यो अंक पुग्दैन । त्यसैले दूध उत्पादन बढाउनुपर्ने माग हुन थालेको छ ।

पोखरास्थित सुजल डेरीले त बागलुङका कतिपय ग्रामीण क्षेत्रमा पुगेर दूध उत्पादन बढाउन माग गरिसकेको छ । ‘दूध किनेर हामी लैजान्छौँ, तपाईँहरू उत्पादन गर्नुहोस् भनेका छौँ,’ डेरीका सञ्चालक डा। लक्ष्मणबहादुर ढकालले भने, ‘दूध उत्पादन गर्न सकेमा बिक्रीको समस्या छैन ।’

शुद्ध दूधमात्र उत्पादन गरेर नपुग्ने भन्दै उनले दुग्धजन्य परिकारमा जानुपर्ने धारणा राखे । डेरीको टोलीले जैमिनी नगरपालिकाका किसानसँग अन्तक्र्रिया गरेर दैनिक ५०० लिटरसम्म दूध पोखरा पठाइदिन आग्रह गरेको छ ।

पर्वतको लुंखुलगायत क्षेत्रमा पनि दूध उत्पादन बढाउन सकेमा पोखरामा सहजै बिक्री गर्न सकिने गरी उद्यमीले खोजी गरेका छन् ।

स्थानीय किसानले पनि सोहीअनुसार उत्पादनको तयारी गरेको किसान विकास पौडेलले बताए ।

जैमिनी नगरपालिका–१ का अध्यक्ष विष्णु आचार्यले नगर क्षेत्रभित्रका किसानलाई गाईभैँसी खरिदमा अनुदान बढाउन सकेमा दूध उत्पादन पनि बढ्ने बताए । 

बागलुङको ताराखोलामा लिमे र पाराकोटे जातको भैँसी संरक्षण अभियानले पनि दूध उत्पादनमा बढोत्तरी दिएको छ । तर, सडक अभावले ताराखोलाका किसानले भने समयमा बजारमा दूध पठाउन नसकेको बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्