Nic Ad Nic Ad
Nic Ad Nic Ad

मल्कबाङमा स्वास्थ्य चौकी भवन

मंगलबार, फागुन २३, २०७९

बेनी– म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । 

५ वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसँगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । 

वल्र्डवाइड मालिका भगवती जेभीले २०७४ मङ्सिर २७ मा १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी भ्याटबाहेक १ करोड ९० लाख रुपैयाँमा स्वास्थ्य चौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना महामारी, निर्माण सामग्री ढुवानीमा भएको समस्यालगायत कारण निर्धारित समयभन्दा ढिला गरी भवन निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले जनाएको छ । 

भवन निर्माण सम्पन्न भएपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष अमर छन्त्याल र स्वास्थ्य चौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको कार्यलयका इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए ।

उनका अनुसार, निर्माणधीन भवन परिसरमा निर्माण गर्न थालिएको खेल मैदानदेखि गएको पहिरोले स्वास्थ्य चौकी भवन जोखिममा परेपछि पक्की पर्खाल र ग्याबिन जाली लगाएर संरक्षणको काम गरिएको छ ।

अन्तिम पटक गत पुस मसान्तसम्मका लागि थप भएको समय सीमाभित्र निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेपछि कार्यालयको तर्फबाट जाँच गरिएको थियो । 

नवनिर्मित २ तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शय्या, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्