धर्मराज थापाको ‘हरियो भन्नु’ पुनः रेकर्ड [भिडियोसहित ]
काठमाडौं –जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु’ पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।
साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी महिला स्वर पनि थपिएको छ । गीतमा महिला स्वर तारा श्रीस मगरको छ भने गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गरेकी छन् ।
जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनको सम्झनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो । थापाको परिवारको सहमतिमा म्युजिक नेपालले यस गीतलाइ पुनः रेकर्ड गरी बजारमा ल्याएको हो ।
गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय छ । सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन छ ।
जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उनका छोरा मदनराज थापाले ७० वर्ष अघि रेकर्ड गरिएको यो लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुनः परिचित गराउन र अग्रज स्रष्टा र उनीहरूको सृजनाबारे के कस्तो धारणा र प्रतिक्रिया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताए ।
‘हरियो भन्नु’ गीत २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो ।