Nic Ad Nic Ad
Nic Ad Nic Ad

तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

मंगलबार, फागुन २३, २०७९

दमौली– तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ ।

समुद्र सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला सम्पन्न भएको हो ।

‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔँः राष्ट्रिय फूल लालीगुराँससँग होली मनाऔँ’ भन्ने नाराका साथ आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, वडा– ५ र छिम्केश्वरी युवा क्लबको सहआयोजनामा मेला सम्पन्न भएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । पर्यटनबाट समृद्धि सम्भव रहेकाले ग्रामीण पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको अभियानमा प्रदेश सरकारले साथ दिने उनले बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले युवालाई स्थानीयस्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने बताए । 

छिम्केश्वरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

मेलामा स्थानीय स्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि स्टलमा राखिएको थियो ।

अन्य स्थानबाट आयात गरिएका सामग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकार, उत्पादनको प्रदर्शनी र धनुषवाण, भाला, छेलो हान्ने खेल खेलाइएको थियो ।

स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रममा रौनक थपेको थियो ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइँली गोरख कालीमाई, काइँली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्णा माई र कान्छी अकला माईलाई सोही स्थलबाट दृश्यावलोकनसहित देख्न सकिन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्