कालीगण्डकी करिडोरमा सुरुङ बनाउने तयारी
काठमाडौँ– कालीगण्डकी करिडोरमा झन्डै ३६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ ।
म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो ।
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरेहको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुंगा–कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताए ।
यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उनले जानकारी दिए । सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको छ ।
यो आवमा ठेक्कामा जाने गरी तयारी अघि बढाइएको छ । उनले भने, ‘अध्ययन प्रतिवेदन आएर फाइनल भएपछि विभाग हुँदै मन्त्रालय लगेर प्रतिवेदन स्वीकृत गर्नुपर्छ ।’
विगतमा अस्थायी सडक संरचना भएको ठाउँमा स्थायी सडकका लागि निर्माण गर्ने गरी योजना अघि बढाइएको हो । सो खण्डमा २–३ वर्षदेखि नियमित रूपमा वर्षामा बाढीपहिरोको समस्या आइरहेको थियो ।
भविष्यमा नदीमा बाढीपहिरो आउँदा सतह बढ्ने हुँदा यो सडकको विकल्प खोजिएको उनले बताए । उनले भने, ‘एक समयमा नदी हिँडेको ठाउँ भएकाले फेरि पनि दोहोरिन सक्छ ।’
५ वर्षपहिले नै यसको प्रारम्भिक अध्ययन भएको र अहिले आएर यसलाई कार्यक्रमका रूपमा अघि बढाइएको योजनाले जनाएको छ । समग्र नेपालीबाट अध्ययन र लगानी पनि नेपालीबाट नै गर्ने गरी योजना अघि बढाइएको हो ।
सो सुरुङको लम्बाइ झन्डै ३५० देखि ३६० मिटर हुने देखिएको छ । अध्ययन सकिएर आउँदा केही तलमाथि भए पनि सडकको लम्बाइको हाराहारीमा सुरुङको लम्बाइ हुने देखिएको छ ।
सुरुङ निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले समस्या नभएको प्रमुख प्रजापतिले बताए ।
चालु आवमा १ करोड २३ लाखको सिलिङ छ । यसको लागत ८० करोड रूपैयाँ हुन सक्ने अनुमान गरिएको छ । ठेक्कामा जाँदा त्यो लागत अझै कममा हुने देखिएको छ ।
उनले भने, ‘कम लम्बाइको सुरुङ भएकाले सडक सुरक्षाका संरचना निर्माण गर्नुनपर्ने र सडक बत्ती आवश्यक नहुने हुँदा लगानी लामा पुलको तुलनामा कम पर्नेछ ।’
यस किसिमको साना सुरुङ पहाडी सडकमा धेरै ठाउँमा आवश्यक रहेको योजना प्रमुख प्रजापतिले बताए । सडकमा मोड कम हुने र त्यसले गर्दा दुर्घटना हुने गरेकामा सुरुङ बनाउँदा सडक सुरक्षित हुने उनको भनाइ छ ।
निर्माणको अवधि कति हुन्छ भनी ‘डिजाइन’बाट थाहा हुने भए पनि २ वर्ष लाग्ने अनुमान गरिएको उनले बताए ।
हाल सञ्चालनमा रहेको सडकभन्दा सुरुङ निर्माण भएर लम्बाइ कम भने नहुने उनले बताए । अहिलेको सडक स्थायी नभएको र वर्षामा बाढी आउँदा सडक नै नरहने हुँदा स्थायी सडकका रूपमा अहिले सुरुङ निर्माण गर्न लागिएको उनको भनाइ छ ।
भूबनोटका आधारमा अहिले सञ्चालनमा रहेको सडकले दीर्घकालीन रूपमा काम नगर्ने र अन्य संरचना निर्माण गर्न पनि नसकिने देखिएकाले सुरुङको विकल्प रोजिएको उनले बताए ।
उनले भने, ‘सडक छोटो बनाउने भन्दा पनि सडकको स्थायी संरचना बनाइएको हो ।’
विगतका वर्षमा यो सडक धेरै पटक मर्मत गरिएको थियो । सडकको सुरक्षाका लागि पर्खाल लगाइएको भए पनि वर्षामा लडेको योजना प्रमुख प्रजापतिले बताए ।
त्यसको मर्मतका लागि अर्को ठेक्का लगाइएको र त्यसका लागि १ करोड रूपैयाँ खर्च भएको थियो ।
उनले भने, ‘कालीगण्डकी नदी कुन समय कत्रो आउँछ, थाहा हुँदैन र ठुलो आउँदा अहिलेको सडकको ठाउँबाटै नदी बग्न सक्ने अवस्था छ ।’
शाखा खोलाले पनि बाढी र गेग्रान थुपार्दा पानी माथि सडकमा आइपुग्ने गरेको उनले बताए । उनका अनुसार सुरुङ बनाएपछि जस्तोसुकै बाढी आए पनि सडक सधैँ सञ्चालनमा हुन सक्छ ।
सडकमा बढी क्षति हुने खण्डमा भने सुरुङ निर्माणका लागि तयारी अघि बढाइएको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए ।
भीरकाटे नदीले सडकको क्षेत्रमा क्षति गर्ने भएकाले सुरुङ निर्माणका लागि अध्ययन भइरहेको उनले बताए ।
सो क्षेत्रमा क्षति कम गर्नका लागि सुरुङको योजना बनाइएको हो । अहिले अध्ययनको क्रममा रहेको र सम्पन्न भएपछि निर्माणका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।
उनका अनुसार सो सुरुङ इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कस्ट्रक्सन (इपिसी) मोडलमा अघि बढाउने गरी छलफल भइरहेको छ ।