संकटा जात्रा मनाइयो
धुलिखेल– काभ्रेपलाञ्चोकको पनौतीमा फागु पूर्णिमाको अवसरमा संकटा जात्रा मनाइएको छ ।
यो जात्रा खास गरी यस क्षेत्रमा बसोबास गर्ने आचार्य र प्रधान समुदायका मानिसले मनाउँछन् ।
जात्रा फागु पूर्णिमाको दिन बिहानै पनौतीको संकटा मन्दिरबाट सुरु भई विभिन्न मठमन्दिरको बाजागाजासहित परिक्रमा गरी पुनः सोही मन्दिर पुगी प्रसाद वितरणपछि समापन हुन्छ ।
पौराणिककालदेखि नै मनाइने भएपछि केही समय मनाउन छाडिएको यो जात्रा २०६७ सालदेखि स्थानीय युवा र भिन्तुना ग्रुपको सक्रियतामा फेरि सुरु भएको जात्रा व्यवस्थापन समितिका सदस्य रोशनकुमार श्रेष्ठले बताए ।
मन्दिरमा आचाजु अर्थात् कर्माचार्यद्वारा पूजा आराधना हुँदै आएको छ ।
पारिवारिक सुख शान्ति र समृद्धिको कामनाका साथै मेलमिलाप र संकट मोचनको कामना गर्दै जात्रा मनाउने चलन छ ।
संकटा जात्रामा आपसमा अबिर लगाएर खुसी साटासाट गरी होली पर्व मनाइन्छ । जात्रालाई अबिर जात्रासमेत भनिने समितिका संयोजक विक्रम प्रजापतिको भनाइ छ ।
विगतमा जस्तै यस वर्ष पनि रातो पहिरनमा सजिएका महिलाले पूजा सामग्रीसहित जात्रा यात्रा र पूजा आराधाना गरेका छन् । जात्राको मुख्य पूजारीमा सत्यनारायण कर्माचार्य थिए ।