Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला स्वास्थ्य सम्मेलन हुँदै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ ।

स्वास्थ्य सेवा विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यमा देखिएका समस्या समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ ।

सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए ।

विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकबारे छलफल हुने बताए ।

महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउन अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रिक सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनले बताए । 

सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्थालगायत ३०० भन्दा बढी प्रतिनिधिको सहभागिता हुनेछ ।

सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्धान् एवं विज्ञ र कार्यक्रमका कार्यान्वयनकर्ताबाट उपलब्ध भएका तथ्यांक, तथ्य, सिकाइ र दृष्टिकोणबारे छलफल गरिनेछ । 

यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलताबारे पनि छलफल गरिने छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्