रामोस चम्किएपछि फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा पुग्यो बेन्फिका
काठमाडौँ– गोन्कालो रामोस चम्किएपछि पोचुगिज क्लब बेन्फिका क्लब ब्रुगमाथि फराकिलो जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगमाथि ५–१ को तथा सम्रगमा ७–१ को फराकिलो जित निकाल्दै बेन्फिका अन्तिम आठमा पुग्न सफल भएको हो । बेन्फिकाले पहिलो लेगमा घरेलु टोलीमाथि २–० को जित निकालेको थियो ।
खेलमा पोर्चुगिज युवा फरवार्ड रामोसले दुई गोलसँगै एक असिस्ट प्रदान गरेका थिए । रामोस तिनै खेलाडी हुन् जसले गत विश्वकपमा स्विट्जरल्यान्डविरुद्ध सुरुवाती ११ मा परेको पहिलो खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए ।
यस्तै, राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले गोल गरे । ब्रुगका विजोर्न मेइजेरले सान्त्वना गोल फर्काए ।
लिस्वोआमा खेलको ३८औँ मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । उनले रामोसको पासमा गोल गर्न सफल भए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । ५७औँ मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि बेन्फिका सहज जिततर्फ अग्रसर बन्यो । ७१औँ मिनेटमा मारियोले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई ४–० ले अघि बढाए ।
७७औँ मिनेटमा ब्राजिलियन खेलाडी डेभिड नेरेसले गोल गरेपछि बेन्फिका खेलमा ५–० ले अघि बढ्यो । ८७औँ मिनेटमा मेइजेरले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । तर, त्यो गोल केवल सान्त्वनामा परिणत हुन पुग्यो । ब्रुग समग्रमा ७–१ को फराकिलो अन्तरले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो ।
गएराति नै भएको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।