Nic Ad Nic Ad
Nic Ad Nic Ad
क्यान्सर पीडित प्राध्यापककाे अपिल

क्यान्सरको उपचारमा सहयोग गरिदिनुस्

गुनको बदला गणित अनुसन्धानको व्यावहारिक प्रयोगको गोरेटो कोरेर तिर्नेछु
बुधबार, फागुन २४, २०७९

धेरै सम्भावना बोकेका युवा देशमा केही हुन्न भनेर बिदेसिँदा मलाई भने देशमा नै केही गर्न मन लागेको थियो ।

म युवापुस्ताका लागि एउटा सन्देश छाड्न चाहन्थेँ कि– नेपालमा पनि धेरै सम्भावना छन् र झन् बढी नै छन् । हामीले धेरै गर्नु छ । आफ्नो उद्देश्य पूरा गर्न मैले निकै संघर्ष गरेँ र जस्तोसुकै अप्ठ्यारा परिस्थितिसँग पनि नडराई अघि बढिरहेँ ।

८ वर्ष पूरा हुँदा १ कक्षामा भर्ना भएकी मैले २९ वर्षको हुँदा गणित विषयमा मास्टर्स डिग्री गरेँ । ३१ वर्षमा उपप्राध्यापक, ३९ वर्षमा सहप्राध्यापक र ४१ वर्षमा नेपालमा नै गणित विषयकी कान्छी प्राध्यापक भएँ । यी सबै खुला प्रतिस्पर्धाका प्राप्ति थिए । ३५ वर्षमा मैले त्रिभुवन विश्वविद्यालयबाट नै गणित विषयमा पिएचडी सकेँ । 

तर, आफ्नो अनुसन्धानमार्फत् नेपाललाई, त्रिविलाई संसारमा चिनाउने मेरो सपना, म जस्तै युवालाई नेपालबाट नै अनुसन्धान गरेर अगाडि बढ्न प्रोत्साहन गर्ने मेरो सपनामा अलिकति बादल लगाउँदै क्यान्सर भयो मलाई ।

हुन त मैले मेरो जीवनको संघर्षमा क्यान्सरभन्दा पनि जटिल समस्याहरूसँग लडेकी छु । यो त मेरो शरीरभित्र उब्जिएको हो र यसलाई म सजिलै परास्त गरिहाल्छु भनेर कति पनि डराइनँ ।

७ वर्षदेखि निरन्तर लडिरहेकी छु । मैले अनुसन्धान गर्न छाडेँ भने, काम गर्न छाडेँ भने क्यान्सरले मलाई झन् सताउँछ भन्ने लाग्थ्यो । त्यसैले मेरो शरीरलाई पो क्यान्सर भएको छ, मलाई त भएको छैन भन्दै घाइते शरीरलाई फकाउँदै, माया गर्दै अनुसन्धानको काम गरी नै रहेँ ।

यो यात्रा सजिलो छँदै थिएन, मेरो शरीरसँगै मलाई माया गर्ने धेरैको साथले आजसम्म सफल भएकी छु । पटक–पटक अनुसन्धानको फेलोसिप दिएर अहिलेसम्म सहयोग गरिदिने जर्मनीको हुम्बोल्डट फाउन्डेसन निकै प्रिय सहयात्री बन्यो, जसबाट जर्मनीमा र नेपालमा गरेर साढे ४ करोड नेपाली रुपैयाँभन्दा बढीको उपचार गर्न सकेँ ।

म सिन्धुपाल्चोक जिल्लाको विकट गाउँ कालिकाको एउटा किसान परिवारकी छोरी हुँ । मेरो सरकारी तलबले खान र कोठा भाडा तिर्न राम्रैसँग पुग्छ । तर मेरो उपचारका लागि पैसा थिएन ।

तर, मेरो अनुसन्धानका कारण अहिलेसम्म अरूलाई खासै भार नपारी उपचार पनि सम्भव बनाएँ । मलाई क्यान्सर भएपछि साथीभाइ, परिवार, अफिस, परिवार सबैतिरका सहयोगी मनले सहयोगका लागि अनुरोध गर्नुपर्छ भनिरहनु भयो । तर, मैले आफूले गर्न सकुन्जेल, धान्न सकुन्जेल म आफैँ गर्छु भनेर पर्खन अनुरोध गरिरहेँ ।

आफूले काम गरेर, आफ्नै पौरखमा आफ्नो उपचार गर्नु मेरा लागि छुट्टै सन्तुष्टि थियो, त्यसबाट छुट्टै ऊर्जा आउँथ्यो, मलाई सक्रिय बनाउँथ्यो र क्यान्सरसँग लड्न ठुलो हिम्मत थियो त्यो, जसका कारण आजसम्म म सफल पनि भएँ । 

तर, अब स्तन, डिम्बाशय, कलेजो हुँदै फोक्सोमा पनि प्रभाव बढाउन थाल्यो क्यान्सरले ! किमोथेरापीलाई नटेर्ने भयो । डाक्टरका अनुसार अब एउटै मात्र उपाय इम्युनोथेरापी उपचार छ, जुन प्रत्येक ३ हप्तामा लगाउनुपर्छ । तर असाध्यै महँगो, सोच्न पनि नसकिने, एक साइकलको ४ लाख रुपैयाँ पर्ने रहेछ ।

मसँग यतिबेला कुनै फेलोसिप हुन्थ्यो भने त्यो पनि असम्भव थिएन । तर, अहिले मसँग त्यो किन्न सक्ने कुनै हैसियत छैन । 

यस अवस्थामा म यस्तो दोबाटोमा छु– एउटामा लाग्दा अब क्यान्सरको अगाडि घुँडा टेक्नुपर्ने हुन्छ । अर्को बाटो क्यान्सरलाई घुँडा टेकाउने हुन्छ, त्यसका लागि मैले सहयोगी मनहरूलाई गुहार्नुपर्ने हुन्छ ।

यो ६ वर्षको यात्रामा कैयौँ पटक आँखाअगाडि मृत्युलाई महसुस गरेकी म तपाईँहरूको सानो सहयोग भए पनि आफ्नो उद्देश्य सम्झेर, मलाई हेरिरहेका, पछ्याइरहेका युवापुस्ताका लागि म हिम्मत बन्नुपर्छ भन्दै सोच्दै जुरुक्क उठ्थेँ । 

मेरो १० वर्षदेखिको एउटा सपना काठमाडौँको ट्राफिक जामलाई वैज्ञानिक व्यवस्थापन गर्ने, जुन अनुसन्धानको क्षेत्र हो, यसका लागि कयौँ युवा अनुसन्धानकर्तालाई ऊर्जा दिनु छ र साँच्चै गरेर देखाउनु छ मैले ।

मेरो जीवनको यो सायद अन्तिम उद्देश्य पनि हो । यो नहेरी म कसरी हारौँ भन्दै मैले आफूलाई हार्न दिइनँ । कतिपटक त डाक्टरले माया मारिसक्दा पनि म आत्तिन्नथेँ, सबै ठिक हुन्छ भन्दै उठ्थेँ ।

मैले नेपालका लागि, गणितका लागि, केही गरौँ भन्ने सम्पूर्ण युवा पुस्ताका लागि अझै धेरै गर्नु छ । सम्पूर्ण क्यान्सर रोगीका लागि अझै हिम्मत बन्नु छ । 

तर, यतिबेला चाहिँ अलि कमजोर महसुस गरेकी छु, उपचार त छ अगाडि । त्यसले राम्रो गर्छ भन्ने विश्वास पनि छ । तर, फेरि पनि त्यो धान्ने पैसा छैन ।

त्यसैले अलि निराश भएकी छु र यो लामो क्यान्सर यात्रामा नै पहिलो पटक मभित्रको थोरै ऊर्जा कमजोर भएको छ । ४२ वर्षको उमेरमा, काम गर्ने मुख्य समयमा नै हारेर जीवन छाड्नुपर्ने त होइन ? भनेर अलकति डर पनि लाग्न थालेको छ । 

उपचार नै नभएको भए त मलाई कुनै असन्तुष्टि हुने थिएन । किनकि मैले गर्ने धेरै काम गरेको छु र सन्तुष्ट पनि छु– जे गर्न सकेँ त्यसमा !

केही उपाय नलागेपछि हाँसी–हाँसी मृत्युलाई स्वीकार्नुको के नै विकल्प हुन्छ र ! मलाई कति पनि गुनासो हुने थिएन, म हाँसेर नै मर्ने थिएँ र मेरो मृत्युमा कसैलाई एक थोपा आँसु खसाल्न दिने थिइनँ । किनकि मैले एउटा सफल जीवन बाँचिसकेकी छु । 

उपचार हुँदाहुँदै पैसाको अभावमा जीवन छाड्नुपर्दा चाहिँ कतै नेपालमा नै बसेर केही गरेर देखाउँछु भन्नु नै गल्ती थियो कि भन्ने पनि लागेको छ । म यो ६ वर्षको यात्रामा हरेक कठिन परिस्थितिमा लड्दै काम गरिरहनुको उद्देश्य यो पनि थियो कि– मेरो देशको युवा पुस्तामा निराशापूर्ण सन्देश दिन चाहन्नथेँ म ।

कम्तीमा भुटान अथवा श्रीलंकामा जस्तो गतिलो इन्स्योरेन्स पोलिसी सरकारको भइदिएको भए आज मेरो यो दिन आउने थिएन । न म नेपालमा नै बस्नु गलत थियो कि भनेर सोच्न थाल्थेँ ।

तर जे भए पनि मेरो मातृभूमि मेरा लागि महान् छ । नेपाली र नेपाललाई माया गर्ने मनहरूबाट म फेरि एक पटक क्यान्सरसँग सामना गर्न तपाईँहरूसँग गुहार माग्दै छु । 

सकेको सहयोग गरिदिन नेपाल सरकार, संघसंस्था र व्यक्तिसँग याचना गर्दछु । गुनको बदला देशमा नै मैले सकेको काम गरेर गणित अनुसन्धानको व्यावहारिक प्रयोगको एउटा गोरेटो मात्र कोरेर भए पनि तिर्नेछु ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्