लयमा रहेको बायर्नविरुद्ध नतिजा उल्टाउनैपर्ने दबाबमा नेइमारविनाको पिएसजी
काठमाडौँ– पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार खेलाडीले भरिएको क्लब हो । यस फ्रेन्च क्लबमा लियोनल मेसी, नेइमारदेखि लिएर युवा सनसनी केलियन एम्बाप्पेसम्म आबद्ध छन् ।
गत वर्ष पनि पिएसजीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको थियो । तर, उसले त्यसको एक छेउ पनि नतिजा हासिल गर्न सकेन । स्टार खेलाडीले भरिएको पिएसजी साविक विजेता रियल म्याड्रिडसँग पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको । यो निकै अप्रत्यासित नतिजा थियो ।
यो पटक पनि पिएसजी उस्तै अवस्थाबाट गुज्रिरहेको छ ।
या पटकको च्याम्पियन्स लिगमा पिएसजी लयमा रहेको जर्मन महारथी बायर्न म्युनिखविरुद्ध अन्तिम १६ मै प्रतिस्पर्धा गरिरहेको छ । पहिलो लेगमा पिएसजी १–० ले पछि छ ।
पिएसजीले निर्णायक खेलमा लय गुमाउने गरेको छ । गत माघ मसान्तमा पिएसजी मार्सेईसँग पराजित हुँदै फ्रेन्च क्लबबाट बाहिरियो ।
यस्तोमा उच्च लयमा रहेको बायर्नसँग निर्णायक हुने भेट पिएसजीका लागि महंगो साबित हुने फुटबल पण्डितहरूले विश्लेषण गरिरहेका छन् ।
यसैबीच, पिएसजीका ब्राजिली फरवार्ड नेयमार पनि घाइते छन् ।
खुट्टाको चोटमा शल्यक्रिया गर्नुपर्ने भएकाले उनले सिजनका बाँकी खेल गुमाउने निश्चित छ । यसर्थ, आज राति १ः४५ बजे हुने निर्णायक खेलमा उनी उपलब्ध हुने निश्चित छ । लयमा रहेका नेइमार उपलब्ध नहुँदा पिएसजीलाई घाटा भएको छ ।
यस्तोमा घरेलु मैदानमै १–० ले पछि परेको पिएसजीलाई आज अवे मैदानमा नतिजा उल्टाउन निकै मेहेनत गर्नुपर्ने देखिन्छ ।
आज राति नै हुने अर्को खेलमा इंग्लिस क्लब टोटनहम हटस्पर र इटालियन क्लब एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो लेगमा मिलान १–० ले अगाडि छ ।