Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटन प्रवद्र्धनका लागि ९ भाषामा सामग्री

बुधबार, फागुन २४, २०७९

दमौली –बाह्रै महिना शीतल हावापानी । जाडो महिनामा बिहानै सूर्योदय । भक्तपुरे शैलीका घरहरू । समुन्द्र सतहबाट १ हजार ३० मिटर उचाइमा अवस्थित पर्यटकीय नगरी बन्दीपुरको पहिचान हो । 

बन्दीपुर नेपालमा मात्र नभई विदेशमा समेत उत्तिकै प्रख्यात छ । बन्दीपुरको सौन्दर्यता अवलोकनका लागि विभिन्न देशबाट पर्यटक यहाँ आउने गरेका छन् । कोभिडकालभन्दा अगाडि भीडभाड रहने बन्दीपुरमा यतिबेला त्यस समय जस्तो चहलपहल त छैन तर बिस्तारै लय लिने प्रयासमा छ । 

बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले बन्दीपुर गाउँपालिकाले नौ भाषामा सामग्री तयार गरेको छ । नेपालीसहित विभिन्न नौ भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका बारेमा स्वअध्ययन गरी जानकारी लिन सहज होस् भन्नका लागि क्युआरकोडमार्फत ९ भाषामा सामग्री तयार गरिएको छ’, अध्यक्ष थापाले भने, ‘यसले गर्दा विदेशी पर्यटकलाई बन्दीपुर घुमघाममा सहयोग पुग्नेछ ।’

सारङ नामक संस्थासँगको सहकार्यमा गाउँपालिकाले क्युआरकोडसहितको सामग्री तयार गरेको हो । बन्दीपुरका बारेमा जानकारी दिने क्युआरकोड बजार क्षेत्र, विभिन्न होटलमा राखिएको छ । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाई भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ । 

क्युआरकोड ‘स्क्यान’ गरेपछि एउटा पेज खुल्नेछ । पेजमा भाषा छनोट गरी गाउँपालिकाका गन्तव्यका बारेमा जानकारी लिन सकिनेछ । जहाँ बन्दीपुरका संस्कृति, जातजातिका साथै घुम्नका लागि प्रमुख गन्तव्यका बारेमा जानकारी राखिएको छ ।

खड्देवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रुपमा सूचीकृत गरेको छ । 

गाउँपालिकाले तयार गरेको विभिन्न भाषाका सामग्रीले यहाँ आउने पर्यटकलाई सहज हुने पर्यटन व्यवसायीको विश्वास छ । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान यो सामग्रीले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउँछन् ।‘यहाँका सबै होटल र सार्वजनिक स्थानमा क्युआरकोडसहितको सामग्री टाँसेका छौ, यसले गर्दा बन्दीपुर घुम्न आउने विदेशी पर्यटकले आफँै यहाँका बारेमा जानकारी लिन सक्नेछन्,’ उनले भने ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङ बताउँछन् ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ । 

विगत २ वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको छ । बन्दीपुर घुम्न आएका सबैजसोले त्यस ठाउँका बारेमा चासो लिने गरेका छन् । ‘बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्यबमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौँ’, गाउँपालिकाका अध्यक्ष थापाले भने ।

कूल साढे २ किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ लागत इष्टिमेट गरिएको छ ।

थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ । 

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । त्यस पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । 

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्नेहरु लोभिने गर्दछ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्