तिलोत्तमालाई ‘नो हर्न’ घोषणा गरिँदै
रुपन्देही–तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवद्र्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा १ चैतदेखि तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो ।
नगरपालिकाले ६ साउन २०७४ मा सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवद्र्धन एवं सरसफाइ अभियान १ चैतमा १०० औँ शृङ्खला पुग्दैछ । नगरपालिकामा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न त्यस्तो घोषणा गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाणले बताए ।
हरियाली प्रवद्र्धन एवं सरसफाइ अभियानको १०० आँ शङ्खलाका अवसरमा नगरपालिकाले बिहीबारदेखि साताव्यापी विविध कार्यक्रमको तयारी गरेको छ ।
त्यस्तै, बिहीबार नै मणिग्राम चोकमा निर्माण गरिएको १०० आँ शृङ्खलाको स्मारक उद्घाटन तथा साँझ नगरपालिकाको कार्यालयमा दीपावली गरिने नगरप्रमुख खाणले बताए ।
अभियानको १०० औँ शृङ्खला पुग्ने दिन १ चैतमा मुख्य कार्यक्रमको आयोजना गरिनेछ । जसमा झाँकी प्रदर्शन तथा सम्मान, नो हर्न नगरपालिका घोषणा तथा त्यसै दिनदेखि नगरपालिकामा उत्पादन हुने कुहिने र नकुहिने फोहोर अलग अलग उठाउन सुरु गरिनेछ । त्यसका लागि जनचेतना अभिवृद्धि गर्न सबै वडामा आफ्नो घर, आँगन, चोक, टोल, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय तथा सार्वजनिक स्थानमा सघन सरसफाइ गर्न नगरवासीलाई अनुरोध गरिएको उपप्रमुख जागेश्वरीदेवी चौधरीले जानकारी दिइन् ।