विदेशीले देखाइदिएको बाटो
काठमाडौँ– शताब्दिऔँअघि घर–आँगन सुन्दर र आकर्षक बनाउन भुइँ र भित्तामा पोतिएका चित्रले आजको आधुनिक समाजमा महिला स्वतन्त्रतालाई पनि बल पुर्याएको छ । आत्मसम्मान दिएको छ । आर्थिक रूपले बलियो बनाएको छ ।
तर, के यसको संरक्षण गर्न सकिएको छ त ? यो प्रश्न हो– मिथिला चित्रकार मिथिलादेवीको ।
मिथिलादेवी आमा सीतादेवी र बुबा तपेश्वर यादवकी दोस्रो सन्तान हुन् । उनको जन्म २०१८ साल साउन १८ गते धनुषा जिल्लाको जनकपुरमा भएको हो ।
सामान्य किसान परिवारमा जन्मिएकी उनी हाल काठमाडौँको डल्लुमा बस्छिन् ।
२०४५ सालतिरको कुरा हो, जुन बेला तराईका महिलालाई स्वतन्त्रतासाथ हाँस्ने, बोल्ने, हिँड्ने छुट थिएन । घरको ढोकाभन्दा बहिर खुट्टा राख्ने अनुमति उनीहरूलाई कहाँ थियो र ?
ती सुन्दर मुहारहरूलाई घुम्टोभित्र लुकाए जस्तै आफ्नो क्षमतालाई पनि लुकाउन बाध्य थिए उनीहरू । तर, त्यो कट्टर समाजको घुम्टो फालेर आफूभित्रको क्षमता देखाउँदै राष्ट्र र अन्तर्राष्ट्रिय रूपमा चिनिन सफल महिलामध्ये एक हुन्– मिथिला ।
उनी मिथिला चित्रकार हुन् । २०४५ सालमा आफूूसहित ४५ जना महिला भेला भएर एउटा हस्तकला पेन्टिङ उद्योग स्थापना गरे । अन्य महिलालाई तालिम दिइन, दिलाइन् ।
जम्मा ५१ सय रूपैयाँबाट स्थापना गरिएको सो संस्थाले अन्य महिला र मिथिलाको हिम्मत तथा निरन्तर संर्घषले मिथिला चित्रकलाबाट वर्षमा १० लाख रुपैयाँसम्मको आम्दानी गर्ने गर्थ्याे ।
तर, कोरोना महामारीपछि भने पहिलाजस्तो व्यापार नहुने गरेको उनी बताउँछिन् । उनको पेन्टिङ उद्योग हाल छोराहरूले चलाउँदै आएका छन् ।
मिथिलाको बाल्यकाल
उनको बाल्यकाल बुबाका साथ रहँदासम्म रमाइलो नै थियो । यादवका बुबा भारतको पटनामा मजदुरी गर्थे । मिथिला ५ वर्षकी हुँदा जन्डिसका कारण बुबाको मृत्यु भयो । त्यसपछि उनको सुखी परिवारमा दुःखको बादल छायो ।
यादवकी आमामाथि पति गुमाएको पीडा त छँदै थियो, त्यसमा थप समाजले एकल महिलाप्रति गर्ने व्यवहार र हेर्ने दृष्टिकोणको सामना गर्नु उनका लागि एउटा ठुलो चुनौती बन्यो ।
बुबाको मृत्युपछि आफन्तको हस्तक्षेप र दबाब पनि सुरु भयो । उनले भनिन्, ‘बुबाको मृत्युको शोक छँदै थियो, त्यसमाथि काकाले आमालाई औँठाछाप गर्न लगाएर बुबाको नाममा रहेको सबै सम्पत्ति लिए । र, हामी सबै सडकमा आयौँ, गरिबीको चपेटामा पर्यौँ ।’
उनको परिवारमा एक छाक टार्न पनि समस्या भयो । पेट पाल्ने उपायका लागि उनकी आमा गाउँकै तुलसी गिरीको घरमा बच्चा हेर्ने काम गर्न थालिन् ।
बुबाको मृत्युपछि एकल आमाका लागि सन्तान पढाउनु र घर चलाउनु दुवै सम्भव भएन । तर पूरै मनले चाहेमा जे पनि सम्भव हुन्छ भन्ने भनाइझैँ पढ्ने इच्छा राखेकी मिथिलाको इच्छा छिमेकी उमाशङ्कर अग्रवालले पूरा गरिदिए ।
अग्रवालको सहायतामा उनले १३ वर्षको उमेरमा श्री सीताराम राष्ट्रिय प्राथमिक विद्यालय जनकपुरबाट कक्षा ७ सम्मको अध्ययन पूरा गरिन् ।
सानै उमेरमा बिहे गरिदिने चलनअनुसार आमाले १३ वर्षको उमेरमा नै शिवराज यादवसँग उनको बिहे गरिदिएको उनी बताउँछिन् । उनको बिहे २०३१ सालमा भएको थियो ।
बिहेपछिको जीवन
मानसिक र शारीरिक रूपमा अपरिपक्व मिथिलाका लागि वैवाहिक जीवन सहज पक्कै थिएन ।
‘साथीहरूसँग रमाउने र विद्यालय जाने उमेरमा जिम्मेवारीको चाङ आइपर्यो । आफ्नो उमेरका बच्चाहरू देख्दा खेल्न जान्थेँ, जसका कारण सासूबाट गाली खानुपर्थ्याे,’ मिथिला विगतका दिन सम्झिन्छिन् ।
२० वर्षकाे उमेर नपुग्दै उनले ३ वटा सन्तान जन्माएकी थिइन् । जसका कारण उनको शारीरिक अवस्था कमजोर हुँदै गयो । विस्तारै परिवारमा साँझ–बिहानको छाक टार्नसमेत गाह्रो पर्न थाल्यो ।
केही उपाय नभएपछि उनले महोत्तरी छाडेर जनकपुर जाने निधो गरिन् । र, २०३६ सालमा सपरिवार जनकपुर फर्किइन् । त्यसको केही समयपछि उनले चुरोट कारखानामा काम गर्न थालिन् । सोही कामबाट आएको रकमले उनले परिवारको खर्च धान्ने गर्थिन् ।
उनी भन्छिन् ‘श्रीमान् १ दिन काम गरे ५ दिन काम नगरी बस्ने गर्थे । सबै परिवार मैले धानेकी थिएँ ।’ उनले लामो समय चुरोट कारखानामा काम गरिन् ।
मिथिला आर्टसँगको सम्बन्ध
घरपरिवार चलाउन संर्घषरत उनको जीवनमा मिथिला आर्टसँगको सम्बन्ध क्लियरा नेपाल आएपछि भएको हो । क्लियरा एक अमेरिकी नागरिक हुन् ।
उनी मिथिला आर्टसम्बन्धी अध्ययनका लागि नेपाल आएकी थिइन् । आर्टसम्बन्धी संस्था स्थापना गर्नुअघि मिथिला चुरोट कारखानामै कार्यरत थिइन् ।
क्लियराले त्यहाँका विपन्न गरिब, दलित परिवारका महिलाहरूलाई रोजगारी दिने उद्देश्यसाथ २०४४ सालमा नारी विकास केन्द्र नामक संस्थाको स्थापना गरिन् । जसमा साहित्यकार डाक्टर राजेन्द्र विमलको पनि सहयोग रहेको मिथिला बताउँछिन् ।
क्लियराले दिएको अवसरले उनलाई आफूभित्र भएको सम्भावना खोतल्ने मौका दियो । क्लियरा नआएको भए बिहे ब्रतबन्धमा घर सजाउनका लागि गरिने सामान्य आर्टको यति ठुलो महत्व छ भन्ने आफूले कहिल्यै थाहा नपाउने उनी बताउँछिन् ।
क्लियराले देखाएको बाटोमा उनले आफूसँगै गाउँघरका महिलाको रोजगारमुखी बनाउने सपना देखिन् ।
क्लियराले मिथिला चित्रकलाको महत्वबारे अवगत गराए पनि उनको कलालाई सबैसामु परिचित गराउन भने कोहिनुर श्रेष्ठको महत्वपूर्ण भूमिका छ ।
जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ परिवारमा आर्थिक समस्यामा अल्झिरहेकी मिथिलाको जीवनमा २०५० सालमा काठमाडौँबाट श्रेष्ठको आगमन भयो । उनी एक व्यावसायी थिइन् ।
घरको भित्तामा रातोमाटो, दियो बाल्दा निस्किने मोसो, सेतो चुना, चामलको पिठोको पेस्ट, पारिजातको फूलको टुप्पोको झोल, सिमीको पातको रसलगायत घरेलु रङको प्रयोग गरेर मिथिला चित्र कोर्दै आएकी मिथिलाका हातमा श्रेष्ठले पहिलो पटक लोक्ता कागज, रेडिमेट कलर र ब्रस थमाइदिए । त्यस दिन आफू अत्यन्तै खुसी भएको उनी बताउँछिन् ।
‘कहिल्यै कागजमा पेन्टिङ नगरेको मेरा लागि त्यो अत्यन्तै अप्ठ्यारो समय थियो । डराउँदै आफैँ कल्पना गरेर बनाएको पहिलो चित्र सबैले मन पराइदिए, जसबाट मेरो हौसला बढेर आयो,’ उनले मुहारमा छुट्टै खुसी देखियो ।
त्यसपछि बिस्तारै उनले संस्थालाई अगाडि बढाउँदै लगिन् । उनको चित्रकलाले मिथिलामा मात्र नभएर बाहिरी जिल्लाहरूमा पनि राम्रै स्थान पायो ।
उनले काठमाडौँमा ठमेलको एक पसलमा कलाकृति बेच्न दिइन् । बिस्तारै माग बढ्दै गयो । उनको चर्चा पनि उत्तिकै हुँदै गयो ।
पारिवारिक सम्बन्ध
पत्नीको प्रगति वा भनौँ आम्दानीको स्रोत बढेसँगै बेरोजगार उनका पतिले उनीमाथि अनेकथरी प्रश्न उठाउन थाले । जसले गर्दा उनको जीवनमा केही समय विभिन्न घरायसी समस्या आए ।
‘समाधान खोज्दै गर्दा मलाई अलग भएर बस्नु नै ठिक लाग्यो र २०५२ सालमा २ छोरा र साढे ३ वर्षकी एउटी छोरी बोकेर काठमाडौँ आएँ,’ उनले भनिन् । त्यसपछि पनि आफ्नो कामलाई निरन्तरता दिन उनी जनकपुर जाने–आउने भने गरिरहिन् ।
उनी आफूलाई सम्भवतः पहिलो महिलाका रूपमा ठान्छिन्, जो घरको दैलो नाघेर समाजमा अघि बढ्न सफल भइन् ।
उनी आफूलाई एक निडर साहसी महिलाका रूपमा चिनाउन रुचाउँछिन् । महिलाहरूले घरको दैलो नाघ्नुहुँदैन भन्ने सोच भएको समाजमा घरको सम्पूर्ण जिम्मेवारी नै उठाएर देखाएकामा उनी खुसी छिन् ।
सम्मान र पुरस्कार
बिहान–बेलुका छाक टार्ने उद्देश्यले सुरु गरेको कामले उनलाई राष्ट्रको सम्मानित स्थानमा पुर्याएको थाहै पाइनन् उनले । आजको दिनसम्म आउँदा आफू थुप्रै पुरस्कारबाट सम्मानित भइसकेको उनी बताउँछिन् ।
उनको कामको कदर गर्दै सरकारले उल्लेखनीय योगदानको सम्मान स्वरूप २०७५ सालमा सुप्रबल जनसेवाश्रीद्वारा सम्मान गरेको छ ।
त्यस्तै, उनी भद्रकुमारी घले सेवा सदनबाट २०६९ सालमा ललितकला पुरस्कारबाट पुरस्कृत भएकी छिन् । नेपाल ललितकला प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी–२०६८ मा लोककलातर्फ ललितकला विशेषलगायत अन्य पुरस्कारबाट समेत पुरस्कृत भएकी थिइन् ।
महिलाले केही गर्न सक्दैनन् भन्ने समाजलाई ‘केही’ गरेर देखाएकामा अत्यन्तै खुसी भएको उनी बताउँछिन् ।
संलग्नता
मिथिला लोककला कलाकारका रूपमा पहिलो पटक २०७१ सालमा प्राज्ञसभा सदस्यमा नियुक्त भएर करिब ५ वर्ष काम गरेको यादवले बताइन् ।
त्यस्तै, २०७५ सालमा ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य लोककला विभाग प्रमुखमा छनोट भएर विभाग प्रमुखका रूपमा काम गरिन् ।
सो समयमा उनले नेपालमा लोप हुँदै गएको मिथिला चित्रकला र अन्य कलालाई प्रवद्र्धन गराउनुपर्छ भन्दै विभिन्न क्षेत्रमा चेतनामूलक कार्यक्रम गरिन् ।
यद्यपि, सम्बन्धित सरकारी निकायबाट यस्ता लोपोन्मुख कलाप्रति खासै चासो नआएपछि जति नै प्रशिक्षण दिए पनि काम नलाग्ने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘समाजमा यस्ता कैयौँ महिला छन्, जसलाई सीपमूलक तालिमको खाँचो छ भने कोही रोजगारीको खोजीमा भौँतारिन बाध्य छन् ।
नेपाल सरकारले मिथिला हस्तकला उत्पादनलाई व्यावसायिक रूपले अगाडि बढाउन तथा आर्थिक उपार्जनसँग जोड्न सहयोग गर्ने हो भने मिथिला क्षेत्रमा राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने अधिक सम्भावना रहेको उनको भनाइ छ ।