अमेरिकामा ४ हप्तामा लाखभन्दा बढी बालबालिकालाई कोभिड संक्रमण
लस एन्जलस– अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड– १९ को संक्रण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरूका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख ६ हजार जना बालबालिका कोभिडको संक्रमणमा परेका हुन् ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको संक्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई संक्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।
पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड संक्रमण भएको थियो । यसअघिका हप्ताहरूमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको संक्रमणमा परेको बताइएको छ ।
अमेरिकामा पछिल्लो समय कोभिडको संक्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने संक्रमण भइरहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरूले कोभिडबाट संक्रमति भएकाहरुको उमेर अनुसारको तथ्यांक लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।